काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वृद्धि र अर्थतन्त्रको विस्तारका लागि सरकार र बैंकिङ क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन्। नयाँ बजेट कार्यान्वयन तथा वित्तीय क्षेत्रको अवस्थाबारे छलफल गर्न मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँगको बैठकमा उनले बैंकहरूलाई अर्थतन्त्र पुनरुत्थानको अभियानमा सक्रिय साझेदार बन्न आग्रह गरे।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सरकार आर्थिक विस्तारको स्पष्ट लक्ष्यसहित अघि बढेको बताउँदै निजी क्षेत्र, बैंकिङ क्षेत्र र सरकारबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। “अर्थतन्त्रको आकार ७४ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखेका छौं। लगानी बढाउन, रोजगारी सिर्जना गर्न र आर्थिक गतिविधि विस्तार गर्न बैंकहरूको महत्वपूर्ण भूमिका छ,” उनले भने।
बैंकहरूले अपेक्षित रूपमा कर्जा विस्तार गर्न नसकेको विषय उठाउँदै उनले त्यसका कारणबारे खुला रूपमा धारणा राख्न आग्रह गरे। बैंकिङ क्षेत्रले भोगिरहेका नीतिगत तथा व्यावहारिक कठिनाइहरू मन्त्रालयसमक्ष एकीकृत रूपमा पेश गर्न आग्रह गर्दै सरकारले आवश्यक सहजीकरण र समाधानका लागि प्रतिबद्ध रहेको बताए।
बैठकमा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले लगानीको वातावरण कमजोर रहेको भन्ने धारणा पूर्ण रूपमा सही नभएको बताएका छन्। उनीहरूले बैंकिङ क्षेत्रले केही नियामकीय चुनौती सामना गरिरहेको भए पनि ती समाधानयोग्य रहेको धारणा राखे।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा लगानीको आकर्षण उल्लेखनीय रूपमा बढेको बताउँदै सरकारले ठूला परियोजना समयमै सम्पन्न गर्न ध्यान दिनुपर्ने बताए। उनले व्यवसायीहरूको विश्वास जित्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले बैंकिङ क्षेत्रको वर्तमान सुस्ततालाई आर्थिक चक्रको स्वाभाविक अवस्थाका रूपमा लिनुपर्ने बताए। “जलविद्युत् क्षेत्रमा लगानीका लागि प्रतिस्पर्धा नै चलिरहेको छ। बाहिर देखिएजस्तो कमजोर अवस्था छैन,” उनले भने।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बजारमा घट्दो व्यावसायिक आत्मविश्वासलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले बैंकहरूको कर्जा प्रवाह क्षमता बढाउन नेपाल राष्ट्र बैंकबाट नीतिगत सहजीकरण आवश्यक रहेको बताए।
एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ग्रामीण तथा विपन्न वर्गसम्म कर्जा विस्तार गर्नुपर्नेमा जोड दिँदै सरकारलाई पुँजीगत खर्च बढाउन सुझाव दिए। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नयाँ आर्थिक वर्षमा उद्योगी–व्यवसायीहरू लगानीका लागि उत्साहित देखिएको बताए।
बैठकमा एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, स्ट्यान्डर्ड चार्टर्ड बैंकका गोरखशमशेर राणा, सिद्धार्थ बैंकका रामेश्वर बस्याल, नबिल बैंकका मनोज ज्ञवालीलगायतले खराब कर्जामाथिको प्रोभिजनिङ नीति, कालोसूची व्यवस्था, चालु पुँजी कर्जा सीमा तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापनसँग सम्बन्धित विषयमा सुधार आवश्यक रहेको धारणा राखेका थिए।
बैंकरहरूले बैंकिङ प्रणालीमा रहेको गैरबैंकिङ सम्पत्ति (एनपीए) व्यवस्थापन, कर्जा असुली प्रक्रियामा सुधार तथा लगानी विस्तारका लागि थप नीतिगत सहजीकरण आवश्यक रहेकोमा जोड दिएका छन्।
अर्थमन्त्री वाग्लेले बैठकमा उठेका सुझावहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्दै सरकार समस्या समाधान र आर्थिक गतिविधि विस्तारका लागि आवश्यक निर्णय लिन तयार रहेको बताए। उनले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियन्त्रित निकायको नभई साझा राष्ट्रिय दायित्वको विषय भएको उल्लेख गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन सबै पक्षले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।

Comment