काठमाडौं। नेपालमा करदाताको संख्या ८४ लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म देशभर कुल ८४ लाख २१ हजार ८०४ करदाता दर्ता भएका छन्। करदाताको दायरा विस्तारसँगै औपचारिक अर्थतन्त्र र कर प्रशासनको पहुँच पनि क्रमशः विस्तार हुँदै गएको मन्त्रालयले जनाएको छ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या सबैभन्दा बढी रहेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका छन्।
त्यस्तै, व्यावसायिक प्यान लिने करदाताको संख्या २१ लाख ७४ हजार ९९२ पुगेको छ। सरकारी कार्यालय, मन्त्रालय, अदालत तथा संवैधानिक निकायका लागि प्रयोग हुने डब्लू प्यानमा दर्ता हुने करदाताको संख्या ३९ हजार १६४ पुगेको मन्त्रालयले जनाएको छ।
गत आर्थिक वर्षमा मात्रै व्यक्तिगत प्यानधारीको संख्या ७ लाख ९३ हजार ९८६ ले वृद्धि भएको छ। सोही अवधिमा १ लाख १४ हजार ३३४ नयाँ व्यावसायिक प्यान दर्ता भएका छन् भने डब्लू प्यान लिने करदाता ३ हजार २९४ ले थपिएका छन्।
मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा आबद्ध हुने करदाताको संख्या पनि बढ्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ३ लाख ७८ हजार २६८ करदाता भ्याटमा दर्ता भएका छन्। समीक्षा अवधिमा मात्रै २६ हजार ५३३ नयाँ करदाता भ्याट प्रणालीमा आबद्ध भएका छन्।
यसैगरी, अन्तःशुल्कतर्फ दर्ता भएका करदाताको संख्या १ लाख ३२ हजार ६७२ पुगेको छ। एक वर्षको अवधिमा मात्र ७ हजार ६७५ नयाँ करदाता अन्तःशुल्क प्रणालीमा थपिएका छन्।
अर्थ मन्त्रालयका अनुसार सार्वजनिक गरिएको विवरण सक्रिय करदाताको तथ्यांकमा आधारित हो। मन्त्रालयले करदाताको संख्या निरन्तर बढ्नु सकारात्मक संकेत भएको उल्लेख गर्दै यसले औपचारिक अर्थतन्त्रको विस्तार, करदातामा बढ्दो सचेतना तथा कर प्रशासनको प्रभावकारी पहुँचलाई प्रतिबिम्बित गर्ने जनाएको छ।
करदाताको आधार फराकिलो बन्दै जाँदा राज्यको राजस्व संकलन क्षमता समेत सुदृढ हुने अपेक्षा गरिएको छ।

Comment