काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.६६ प्रतिशतले बढी हो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी २.६३ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब ८० करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँ रहेको थियो।
बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी ३.३९ प्रतिशतले बढेर १६ अर्ब २० करोड ३८ लाख रुपैयाँ पुगेको छ। सेवा शुल्क तथा कमिसन आम्दानीमा पनि उल्लेखनीय सुधार देखिएको छ। यस शीर्षकअन्तर्गत बैंकले ३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.४६ प्रतिशतले बढी हो।
यसैगरी, इम्पेयरमेन्ट चार्ज ४९.३५ प्रतिशतले घटेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँमा सीमित भएपछि बैंकको नाफा वृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ। सञ्चालन मुनाफा पनि ११.६४ प्रतिशतले बढेर १६ अर्ब ८ करोड २१ लाख रुपैयाँ पुगेको छ।
निक्षेप र कर्जा विस्तारमा समेत बैंकले उल्लेखनीय वृद्धि हासिल गरेको छ। असार मसान्तसम्म बैंकको निक्षेप संकलन १५.८५ प्रतिशतले बढेर ५ खर्ब ८९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १०.३२ प्रतिशतले वृद्धि हुँदै ४ खर्ब ५९ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य मुनाफा पनि मजबुत बनेको छ। विभिन्न नियामकीय व्यवस्थापनपछि बैंकसँग ४ अर्ब ८० करोड १ लाख रुपैयाँ वितरणयोग्य मुनाफा सञ्चित रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.०८ प्रतिशतले बढी हो। समीक्षा वर्षको नाफाबाट मात्रै ३ अर्ब ७० करोड ३४ लाख रुपैयाँ लाभांशका लागि उपलब्ध रहेको बैंकले जनाएको छ।
३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष २९.५२ प्रतिशतले बढेर ३१ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यससँगै प्रतिशेयर आम्दानी (ईपीएस) १३.३२ रुपैयाँबाट बढेर १६.३४ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ कायम भएको छ।
साथै, बैंकको खराब कर्जा (एनपीएल) ४.६९ प्रतिशतबाट घटेर ४.५५ प्रतिशतमा झरेको छ। बैंकको आधार दर ७.५१ प्रतिशत, स्प्रेड दर ३.२८ प्रतिशत तथा पुँजी कोष अनुपात १२.१९ प्रतिशत रहेको छ।
वित्तीय सूचकहरूमा देखिएको सुधारले ग्लोबल आइएमई बैंकको सञ्चालन क्षमता, आम्दानी वृद्धि र लाभांश वितरण क्षमतामा थप मजबुती आएको संकेत गरेको छ।

Comment