जीवन बीमा व्यवसाय १२.४३ प्रतिशतले बढ्यो, दुई खर्ब रुपैयाँ नाघ्यो प्रिमियम संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तारले गत आर्थिक वर्ष उत्साहजनक वृद्धि हासिल गरेको छ। नेपाल बीमा प्राधिकरणको वार्षिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल २ खर्ब १ अर्ब ९१ करोड रुपैयाँ बराबरको बीमा शुल्क (प्रिमियम) संकलन गरेका छन्।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँको तुलनामा १२.४३ प्रतिशत बढी हो। यससँगै जीवन बीमा क्षेत्रले दुई खर्ब रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्दै व्यवसाय विस्तारको नयाँ उचाइ हासिल गरेको छ।

प्राधिकरणको तथ्यांकअनुसार कुल प्रिमियम संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स लगातार अग्रस्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.३४ प्रतिशतले बढी हो।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड रुपैयाँ प्रिमियम संकलन गर्दै ११.०६ प्रतिशत वृद्धि हासिल गरेको छ। एलआईसी नेपालले ६.५७ प्रतिशत वृद्धि गर्दै २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ।

ठूला कम्पनीहरूमध्ये हिमालयन लाइफ इन्स्योरेन्सले १८ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गर्दै ५.१६ प्रतिशत वृद्धि हासिल गरेको छ। सूर्यज्योति लाइफले १६.५९ प्रतिशत वृद्धि गर्दै १२ अर्ब ९० करोड रुपैयाँ तथा एशियन लाइफले १३.५३ प्रतिशत वृद्धि गर्दै १० अर्ब ४३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन्।

वृद्धिदरका आधारमा भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले ३७.९६ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै ७ अर्ब ४५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। त्यसपछि सिटिजन लाइफ इन्स्योरेन्सले २४.९३ प्रतिशत वृद्धि गर्दै ९ अर्ब १६ करोड रुपैयाँ तथा रिलायबल नेपाल लाइफले २४ प्रतिशत वृद्धि हासिल गर्दै ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।

प्रभु महालक्ष्मी लाइफले २१ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ३३ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १६.९९ प्रतिशत वृद्धि गर्दै ७ अर्ब ९९ करोड रुपैयाँ तथा सन नेपाल लाइफले १६.८० प्रतिशत वृद्धि गर्दै ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन्। मेट लाइफको व्यवसाय पनि ९.६२ प्रतिशत बढेर ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी भने प्रिमियम संकलन घट्ने एकमात्र कम्पनी बनेको छ। कम्पनीको व्यवसाय अघिल्लो वर्षको तुलनामा २.२९ प्रतिशतले घटेर ९ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको प्राधिकरणको तथ्यांकले देखाएको छ।

जीवन बीमा क्षेत्रमा देखिएको दोहोरो अंकको वृद्धि, नयाँ कम्पनीहरूको आक्रामक बजार विस्तार तथा बीमाप्रति बढ्दो जनचासोले आगामी वर्षहरूमा पनि क्षेत्रको व्यवसायिक विस्तारले निरन्तरता पाउने संकेत गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।