कप्तानगञ्ज घटनापछि उद्योग परिसंघको अपिल : ‘सामाजिक र धार्मिक सद्भाव कायम राखौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति चासो व्यक्त गर्दै नेपाल उद्योग परिसंघले सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।

परिसंघले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको पहिचान बोकेको मुलुक भएकाले त्यसलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान वार्ता र संवादबाट सम्भव हुने भन्दै आन्दोलन, हिंसा वा मुठभेडबाट समाधान ननिस्कने उल्लेख गरिएको छ।

“संयमता अपनाई आपसी सद्भाव कायम राख्दै मुलुकमा शान्ति, सुव्यवस्था तथा सामाजिक र धार्मिक सहिष्णुता जोगाउन सबैमा आह्वान गर्दछौं,” परिसंघले जनाएको छ।

परिसंघले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार आवश्यक रहेका बेला यस्ता घटनाले थप निराशा पैदा गर्ने जनाएको छ।

आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार तथा पसल बन्द गराउने र लुटपाटजस्ता घटना भएकोप्रति दुःख व्यक्त गर्दै परिसंघले आम नागरिक र उद्योग–व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ।

साथै, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न समाजका विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै सद्भाव र्‍याली तथा शान्ति प्रवर्द्धनका गतिविधिमा सहभागी हुन परिसंघले आफ्ना प्रदेश तथा जिल्ला संघहरू र निजी क्षेत्रका अन्य संस्थालाई पनि आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।