काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था अझै सहज भइनसकेको बताएका छन्। उनले जनअपेक्षाअनुसार काम हुन नसक्दा नागरिकमा निराशा बढ्दै गएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै जनतामा विश्वासको संकट गहिरिँदै गएको बताए।
“देशको राजनीति सहज भइसकेको छैन,” उनले भने, “जनतामा निराशा बढ्दै गएको छ। सरकारका क्रियाकलापले जनता झन् झस्किएजस्तो देखिन्छ।”
प्रचण्डले मुलुकमा भएका राम्रो र नराम्रा दुवै कामको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने धारणा राखे। उनले राजनीतिक नेतृत्व जिम्मेवारीबाट पन्छिन नहुने उल्लेख गर्दै सुशासन र जवाफदेहिताको आवश्यकता औंल्याए।
सुनसरीको कप्तानगन्ज घटनाको प्रसंग उठाउँदै उनले बेथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले नै लिनुपर्ने बताए।
“बेथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्छ,” उनले भने।
प्रचण्डको भनाइले वर्तमान राजनीतिक अवस्था, जनविश्वासको संकट र सरकारको कार्यशैलीप्रति प्रमुख प्रतिपक्षको आलोचना झल्काएको छ।

Comment