नेप्सेको सीईओका लागि आवेदन खुला, यी हुन् योग्यता र सर्तहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले गठन गरेको ‘छनोट तथा सिफारिस समिति’ ले मंगलबार (साउन १२) एक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट १५ दिनभित्र आवेदन माग गरेको हो । इच्छुक उम्मेदवारले आगामी साउन २६ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दर्ता गराउन सक्नेछन् ।

यो पदका लागि शैक्षिक योग्यताका रूपमा अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा कानून विषयमा कम्तीमा स्नातकोत्तर (मास्टर्स) तह उत्तीर्ण गरेको वा चार्टर्ड एकाउन्टेन्सी (सीए) सरहको उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

शैक्षिक योग्यताका साथै सम्बन्धित क्षेत्रमा कार्य अनुभवलाई पनि विशेष प्राथमिकता दिइएको छ। सूचनाअनुसार पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा १५ वर्षको कार्य अनुभव भएको र त्यसमध्ये कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको व्यक्ति मात्र यस पदका लागि योग्य मानिनेछन् ।

उम्मेदवारको उमेरका हकमा आवेदन दिने मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदन दिने व्यक्ति कुनै पनि फौजदारी कसुरमा सजाय नपाएको, भ्रष्टाचार वा नैतिक पतन देखिने कार्यमा संलग्न नभएको, प्रचलित कानूनबमोजिम कालो सूचीमा नपरेको र विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको हुनुपर्ने स्पष्ट पारिएको छ ।

साथै, मानसिक सन्तुलन ठीक नभएको वा सार्वजनिक निकायको ठेक्कापट्टामा संलग्न व्यक्तिहरूले यस पदका लागि आवेदन दिन पाउने छैनन् ।

आवेदनका साथ उम्मेदवारले आफ्नो शैक्षिक योग्यता र अनुभवका कागजातहरूका अतिरिक्त नेप्सेको भावी सुधार र विकासका लागि तयार पारिएको तीन प्रति खामबन्दी ‘व्यावसायिक कार्ययोजना’ समेत अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । दरखास्त दस्तुरवापत ५ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको अर्थ मन्त्रालयको राजश्व खातामा जम्मा गरी सोको सक्कल भौचर आवेदनका साथ पेस गर्नुपर्ने नियम छ ।

प्राप्त आवेदनहरूमध्येबाट व्यावसायिक कार्ययोजनाको मूल्यांकन र अन्तर्वार्ताका आधारमा छनोट समितिले उत्कृष्ट उम्मेदवारहरूको नाम सरकार समक्ष सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले एक जनालाई नेप्सेको सीईओमा नियुक्ति गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।