सूरज वैद्य बने अनररी कन्सुलर कर्प्स नेपालको नयाँ डीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि फिलिपिन्सका मानार्थ वाणिज्यदूत तथा प्रतिष्ठित उद्योगी सूरज वैद्य ‘अनररी कन्सुलर कर्प्स नेपाल’ (एचसीसीएन) को नयाँ डीनमा निर्वाचित भएका छन्।

एचसीसीएनको १९औँ वार्षिक साधारण सभा तथा स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा निवर्तमान डीन एवं बुल्गेरियाका मानार्थ वाणिज्यदूत भोला विक्रम थापाले वैद्यलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका हुन्। थापाले अब ‘इमिडिएट पास्ट डीन’ का रूपमा संस्थालाई सहयोग जारी राख्नेछन्।

समारोहमा निवर्तमान डीन थापाले आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्दै कूटनीतिक सम्बन्ध विस्तार, व्यापार प्रवर्द्धन तथा नेपालको सामाजिक–आर्थिक विकासमा मानार्थ वाणिज्यदूतहरूको भूमिकालाई प्रभावकारी बनाउन गरिएका पहलहरूको समीक्षा गरे। उनले संस्थाको गरिमा उकास्न योगदान पुर्‍याउने सबै सदस्यप्रति आभार व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री शिशिर खनालले मानार्थ वाणिज्यदूतहरूले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीच सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आर्थिक कूटनीति, लगानी प्रवर्द्धन र पर्यटन विस्तारमा उनीहरूको योगदान महत्त्वपूर्ण रहेको बताए।

‘तपाईंहरूको प्रयासले नेपालको अन्तर्राष्ट्रिय पहुँचलाई समृद्ध बनाएको छ र जनस्तर, व्यावसायिक तथा संस्थागत सम्बन्धलाई थप मजबुत बनाएको छ,’ मन्त्री खनालले भने।

उनले मानार्थ वाणिज्यदूतहरूको भूमिका थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले कार्यसम्पादन र सुविधासम्बन्धी विद्यमान नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्ने जानकारी पनि दिए।

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले एचसीसीएनका सदस्यहरूलाई तीन प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गर्न आग्रह गरे। देशगत रणनीतिक योजना निर्माण, नागरिक केन्द्रित कन्सुलर सेवा प्रवाह तथा सांस्कृतिक एवं युवा आदानप्रदानलाई सुदृढ बनाउने विषयलाई उनले प्राथमिकतामा राख्न सुझाव दिए।

नयाँ पदभार ग्रहणपछि डीन वैद्यले संस्थालाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कन्सुलर कर्प्सको सामूहिक आवाजलाई बलियो बनाउँदै सक्रिय आर्थिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिका उद्देश्यहरूलाई सहयोग पुर्‍याउने बताए।

वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा वैद्यज अर्गनाइजेसन अफ इन्ड्रस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसका अध्यक्ष हुन्। उनले यसअघि एचसीसीएनको कार्यसमितिमा भाइस डीनको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

नेपालमा विभिन्न देशहरूको प्रतिनिधित्व गर्ने मानार्थ वाणिज्यदूतहरूको छाता संगठनका रूपमा रहेको एचसीसीएनमा हाल ६४ जना मानार्थ वाणिज्यदूत सदस्य रहेका छन्। संस्थाले नेपाल सरकार, कूटनीतिक समुदाय र निजी क्षेत्रबीच समन्वय तथा सहकार्यको मञ्चका रूपमा काम गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।