फिफा विश्वकप २०२६: फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

अमेरिकाको मियामी स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डले पहिलो हाफमै ४–० को बलियो अग्रता बनाएको थियो। तर दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएको थियो।

इंग्ल्यान्डका लागि बुकायो शाकाले ह्याट्रिक पूरा गरे। उनले खेलको ३७औँ, पहिलो हाफको इन्जुरी समय र ८७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। डेक्लान राइसले खेलको तेस्रो मिनेटमै गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए भने एज़्री कोन्शाले १८औँ मिनेटमा हेडरमार्फत दोस्रो गोल गरे।

पहिलो हाफ ४–० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्‍यो। कप्तान किलियन एमबाप्पेले ४८औँ मिनेटमा गोल गर्दै फ्रान्सको पुनरागमनको सुरुआत गरे। त्यसपछि ब्राडली बारकोलाले ५४औँ मिनेटमा गोल गरे भने एमबाप्पेले ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याए।

खेलको ८७औँ मिनेटमा शाकाले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ५–३ को अग्रता दिलाए। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गरेपछि खेल ५–४ मा पुगेको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे।

यस जितसँगै इंग्ल्यान्डले विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ। सन् १९६६ मा विश्वकप उपाधि जितेपछि इंग्ल्यान्डले विश्वकप इतिहासमा हासिल गरेको यो उत्कृष्ट नतिजा हो। यसअघि सन् २०१८ को विश्वकपमा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो।

यता, विश्वकपको अन्तिम खेलमा दुई गोल गरेका फ्रान्सेली कप्तान एमबाप्पे गोल्डेन बुटको दौडमा अग्रस्थानमा उक्लिएका छन्। उनका नाममा हाल १० गोल पुगेको छ। अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको नाममा ८ गोल रहेको छ र उनले स्पेनविरुद्धको फाइनल खेल खेल्न बाँकी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।