काठमाडौं । वाईवाई चाउचाउ उत्पादन तथा बिक्री गर्दै आएको सीजी फुड्स नेपालले पछिल्लो आर्थिक वर्षमा ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीले वाईवाईसँगै रियो र क्विक्स ब्रान्डमार्फत विभिन्न खाद्य सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रालाई उपलब्ध गराइएको विवरणअनुसार कम्पनीले सन् २०२३ मा १२ अर्ब ५१ करोड रुपैयाँ, सन् २०२४ मा ११ अर्ब ६७ करोड रुपैयाँ र सन् २०२५ मा ११ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो। कम्पनीको कुल व्यापारमध्ये करिब ७४ देखि ७५ प्रतिशत हिस्सा वाईवाई चाउचाउको रहेको छ।
सीजी फुड्सका देशभर रहेका तीन सहायक कम्पनीसहितको समग्र कारोबार पछिल्लो वर्ष २.७२ प्रतिशतले घटेको देखिए पनि कम्पनीको वित्तीय अवस्था भने सुदृढ रहेको मूल्यांकन गरिएको छ। गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा मार्जिन ६.६ प्रतिशत रहेको थियो।
कम्पनीका अनुसार गहुँ, पाम तेललगायत प्रमुख कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार, माग–आपूर्ति अवस्था, भूराजनीतिक घटनाक्रम तथा विदेशी विनिमय दरको उतारचढावबाट प्रभावित हुने भएकाले नाफामा समय–समयमा दबाब पर्ने गरेको छ।
व्यापार र नाफा केही घटे पनि कम्पनीको ऋणभार न्यून रहेको छ। गत वर्ष कम्पनीको समग्र गियरिङ अनुपात ०.२ गुणा रहेको थियो, जसले पुँजीको तुलनामा ऋण केवल २० प्रतिशत रहेको देखाउँछ। कम्पनीको ब्याज भुक्तानी क्षमता (इन्टरेस्ट कभरेज रेसियो) १५.१ गुणा र कर्जा सेवा भुक्तानी क्षमता (डेट सर्भिस कभरेज रेसियो) ११.८ गुणा रहेको छ।
इक्राको प्रतिवेदनले कम्पनीले सन् २०२५ मा अघिल्लो वर्षको खुद नाफाको ९२ प्रतिशत तथा सन् २०२६ को नौ महिनामा करिब सम्पूर्ण नाफा लाभांशका रूपमा वितरण गरेको उल्लेख गरेको छ। उच्च लाभांश वितरणले भविष्यका पुँजीगत खर्च र तरलतामा दबाब सिर्जना गर्न सक्ने जोखिमलाई इक्राले ‘क्रेडिट कन्सर्न’ का रूपमा औंल्याएको छ।
कम्पनीको कुल व्यापारमा चाउचाउको हिस्सा ७४ प्रतिशत भए पनि बाँकी हिस्सा रियो जुस, क्विक्स चिज बल, चिप्स तथा अन्य स्न्याक्स उत्पादनबाट आउने गरेको छ। कम्पनीले नयाँ उत्पादन क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना बनाएको जनाएको छ।
इक्राले पछिल्लो समय बजारमा आएका नयाँ पिरो चाउचाउ ब्रान्डहरूले प्रतिस्पर्धा बढाएको र उपभोक्ताको रुचिमा आएको परिवर्तनले वाईवाईको परम्परागत बजार हिस्सामा चुनौती थपिएको उल्लेख गरेको छ।
सीजी फुड्सले ९९ करोड ५५ लाख रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधा लागि रेटिङ गराएको छ, जसमा ३२ करोड २१ लाख रुपैयाँ कोषमा आधारित र ६७ करोड ३४ लाख रुपैयाँ गैरकोषमा आधारित कर्जा समावेश छ। उक्त सुविधाका लागि कम्पनीले ‘एवान’ रेटिङ प्राप्त गरेको छ, जसले अल्पकालीन ऋण तिर्ने क्षमता बलियो रहेको संकेत गर्दछ।
कम्पनीले काठमाडौं, बर्दिया र सुनसरीस्थित फुड पार्क तथा सीजी इन्डस्ट्रियल पार्कमार्फत उत्पादन गर्दै आएको छ। हाल कम्पनीका नौ नुडल्स लाइन र चार उत्पादन प्लान्ट सञ्चालनमा छन्।
स्ट्यान्डअलोन कारोबारमा सुधार
तीन सहायक कम्पनीबाहेक सीजी फुड्सले एक्लैले चालु आर्थिक वर्षको नौ महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। कम्पनीले सन् २०२५ मा ७ अर्ब ७७ करोड रुपैयाँ, सन् २०२४ मा ८ अर्ब १० करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ९ अर्ब ११ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।
विगत केही वर्ष कारोबार घट्दो क्रममा रहे पनि चालु आर्थिक वर्षको नौ महिनामा सुधार देखिएको कम्पनीको दाबी छ। स्ट्यान्डअलोन वित्तीय विवरणअनुसार उक्त अवधिको कुल कारोबारमध्ये ७४ प्रतिशत हिस्सा चाउचाउ बिक्रीबाट आएको छ भने पेय पदार्थ, स्न्याक्स तथा चिप्सको व्यापार पनि विस्तार भइरहेको छ।
निर्यातमा भएको वृद्धि र गहुँको मूल्यमा आएको गिरावटका कारण कम्पनीको नाफा मार्जिन ६.३ प्रतिशतबाट बढेर ११.२ प्रतिशत पुगेको छ। साथै, कम्पनीको ब्याज तथा ऋण भुक्तानी क्षमता २५.८ गुणासम्म पुगेको छ। सन् २०२६ अप्रिलसम्म कम्पनीसँग २१ करोड ३० लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख गरिएको छ।

Comment