काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (नेकपा एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत र गैरजिम्मेवार भएको आरोप लगाउँदै तत्काल संसद् र नेपाली जनतासँग माफी माग्न माग गरेको छ।
महासचिव शंकर पोखरेल द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री शाहलाई कूटनीतिक मर्यादा पालना गर्न तथा राष्ट्रिय स्वाभिमानको रक्षा गर्न मार्ग प्रशस्त गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री वालेन्द्र शाहको उक्त गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकारलाई स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुन जोडदार माग गर्दछ। नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने अडानमा सिंगो देश अडिग छ।”
एमालेले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको सीमा विवाद समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु असान्दर्भिक र कूटनीतिक अपरिपक्वता भएको टिप्पणी गरेको छ।
विज्ञप्तिमा नेपाल–भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्ता सहित ७१ स्थानमा सीमा समस्या रहेको तथ्य सरकारी अभिलेखमै स्पष्ट रहेको उल्लेख गरिएको छ। यस्ता विवादको समाधान ऐतिहासिक तथ्य, प्रमाण, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय मान्यताका आधारमा हुनुपर्ने एमालेको धारणा छ।
एमालेले खेतीपाती वा नदीको धार परिवर्तनका कारण हुने प्राविधिक ‘क्रस होल्डिङ’लाई राज्यस्तरको रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने जिकिर पनि गरेको छ।
साथै, जटिल प्राविधिक र राजनीतिक विषयलाई देशको कार्यकारी प्रमुखले संसद् जस्तो गरिमामय मञ्चमा हलुका ढंगले प्रस्तुत गर्नु आपत्तिजनक भएको एमालेले जनाएको छ।



Comment