प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती : श्रम संस्कृति पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले संसद्‌मा सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्रीको कदम र भनाइप्रति कडा विरोध जनाउँदै पार्टीले ‘राष्ट्रघाती बदनियत’ को संज्ञा दिएको हो।

विज्ञप्तिमा पूर्व तालिका बिना नै १७ जेठमा सदनको बैठक बोलाएर र १८ जेठमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति भारत जानुअघि प्रधानमन्त्रीले रोष्टममा उभिएर दिएको अभिव्यक्ति शङ्कास्पद र आपत्तिजनक भएको उल्लेख गरिएको छ।

प्रधानमन्त्रीले संसद्‌मा “नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ” भनी दिएको अभिव्यक्तिले नेपालको स्थापित अडानलाई कमजोर बनाएको पार्टीको ठहर रहेको विज्ञप्तीमा जनाइएको छ।

अध्यक्ष साम्पाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको यो अभिव्यक्तिले हाम्रो सीमा मिचिएको कुरालाई रफादफा गर्ने तथा लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने नेपाली मागलाई सामसुम पार्ने काम गरेको छ। नेपालले धेरै ठाउँको भूमि भारतलाई छोडिदिनुपर्ने खालको राष्ट्रघाती बदनियत यसबाट स्पष्ट हुन्।”

विज्ञप्तिमा अगाडि भनिएको छ कि प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण भनाइले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र स्थितिबारे गम्भीर अस्पष्टता पैदा गरेको छ।

सेनाको भूमिका र आन्तरिक सुरक्षामा प्रश्न
श्रम संस्कृति पार्टीले सरकारको प्राथमिकतामाथि पनि प्रश्न उठाएको छ । नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र सुकुम्वासी बस्तीमा हमला गर्न मात्र सीमित राखिएको तर सिमानामा सेनालाई नियाल्न समेत नपठाइएको आरोप विज्ञप्तिमा लगाइएको छ । उल्टै नेपालले नै भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्री र वर्तमान सरकार देशको भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको कुरा पुष्टि भएको दाबी गरिएको छ ।

विज्ञप्तिको अन्त्यमा, प्रधानमन्त्री र सरकारको यस कदमप्रति श्रम संस्कृति पार्टी र तमाम नेपाली जनताका तर्फबाट घोर आपत्तिसहित कडा विरोध व्यक्त गर्दै ‘जय माटो ! जय देश !!’ को नाराका साथ आफ्नो अडान दोहोर्‍याइएको छ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।