स्ट्रक्चरल इन्जिनियर्सका लागि ‘निर्माण सूचना प्रणाली’ सम्बन्धी चारदिने तालिम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । स्ट्रक्चरल इन्जिनियर्सहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरमा सञ्चालन गरिएको ‘निर्माण सूचना प्रणाली’ (बिल्डिङ इन्फर्मेसन मोडलिङ–बीआईएम) सम्बन्धी चारदिने आधारभूत तालिम सम्पन्न भएको छ।

स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपाल र नेपाल बिल्डिङ इन्फर्मेसन फोरमको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सञ्चालित तालिम आइतबार सम्पन्न भएको हो।

तालिम समापन कार्यक्रममा नेपाल इन्जिनियरिङ एशोसिएशनका अध्यक्ष सुभासचन्द्र बरालले यस्ता तालिमले इन्जिनियरहरूको पेशागत दक्षता वृद्धि गर्नुका साथै कार्यालय तथा परियोजनाको कार्यक्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नेपाल इन्जिनियरिङ एशोसिएशनले आगामी दिनमा पनि यस्ता प्राविधिक तथा सीपमूलक तालिमलाई प्राथमिकतामा राख्ने बताउँदै इन्जिनियरहरूको सक्रियता र सहभागिताले पेशागत संस्थालाई अझ सुदृढ बनाउने धारणा राख्नुभयो।

पूर्वाधार मन्त्रालयका सहसचिव लिला खतिवडाले बीआईएमजस्ता आधुनिक प्रविधिमा आधारित तालिमले इन्जिनियरहरूलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउँदै ठूला पूर्वाधार परियोजनालाई थप विश्वसनीय, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले यस्ता तालिमले योजना निर्माण, लागत नियन्त्रण, समय व्यवस्थापन तथा गुणस्तर सुनिश्चिततामा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो।

स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन नेपालका अध्यक्ष कृष्णसिंह बस्नेतले संस्थाले तय गरेको योजनाअनुसार स्ट्रक्चरल इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि नेपाल बीआईएम फोरमसँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सफल भएको बताउनुभयो।

सोसाइटी अफ आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनका अध्यक्ष ईश्वरलाल जोशीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै सहभागीहरूलाई अनलाइन माध्यमबाट पनि निरन्तर अध्ययन र अभ्यास गर्न सुझाव दिनुभयो।

नेपाल बीआईएम फोरमका उपाध्यक्ष नवीन घिसिङले इन्जिनियरिङ क्षेत्रमा ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै यस्ता तालिम कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो।

तालिमका मुख्य प्रशिक्षक सुधीर थापाले सहभागीहरूलाई आधुनिक प्रविधिसहित प्रभावकारी संरचना डिजाइनसम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान प्रदान गर्ने प्रयास सफल भएको बताउनुभयो। उहाँले सहभागीबाट प्राप्त सुझावले आगामी तालिमलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

एशोसिएशनका सहसचिव डा. भरत प्रधानले तालिमले अपेक्षित उद्देश्य हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिनुभयो।

काठमाडौं विश्वविद्यालयबाट दीक्षित क्षितिज पण्डितले भविष्य बीआईएम प्रविधिमै आधारित हुने उल्लेख गर्दै तालिमबाट धेरै नयाँ ज्ञान हासिल भएको प्रतिक्रिया दिनुभयो। इन्जिनियर अच्युत पौडेलले चारदिने तालिमले नयाँ अवसर सिर्जना गरेको बताउँदै नेपालमै बसेर आधुनिक इन्जिनियरिङ अभ्यास गर्नका लागि यस्तो तालिम अत्यन्त उपयोगी रहेको धारणा राख्नुभयो।

एशोसिएशनका कोषाध्यक्ष रुपेन्द्रवरध्वज थापाले नेपालमा सार्वजनिक निर्माण तथा पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न नहुने, लागत वृद्धि हुने तथा गुणस्तर कायम गर्न कठिनाइ हुने समस्या बढ्दै गएको उल्लेख गर्दै यस्ता चुनौती समाधानका लागि प्रविधिमैत्री तालिम प्रभावकारी हुने बताउनुभयो।

तालिमका संयोजक राजेन्द्र गौतमले डिजिटल प्रविधिको प्रयोगमार्फत परियोजनाको समय, लागत र गुणस्तर व्यवस्थापनमा सुधार ल्याउन बीआईएम प्रणाली प्रभावकारी हुने बताउनुभयो। उहाँले यस्ता तालिमले नेपालको इन्जिनियरिङ क्षेत्रको आधुनिकीकरण र दिगो पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा आधुनिक निर्माण क्षेत्रमा बीआईएम प्रविधि केवल डिजाइन उपकरणमा सीमित नरही सम्पूर्ण परियोजना व्यवस्थापन, समन्वय, विश्लेषण तथा निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने डिजिटल प्रणालीका रूपमा विकास भइरहेको जानकारी गराइएको थियो। नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा सुरक्षित, दिगो तथा गुणस्तरीय संरचना निर्माणका लागि बीआईएम प्रविधिको प्रयोग अत्यन्त आवश्यक मानिएको छ।

तालिममार्फत सहभागी संरचनात्मक इन्जिनियरहरूलाई आधुनिक डिजिटल मोडलिङ प्रविधि तथा बीआईएम आधारित कार्यप्रणालीसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको आयोजकले जनाएको छ। बीआईएमको प्रयोगबाट थ्रीडी मोडलिङमार्फत डिजाइन त्रुटि पहिचान, विभिन्न प्राविधिक टोलीबीच समन्वय, निर्माण लागत नियन्त्रण, समय व्यवस्थापन तथा परियोजनाको गुणस्तर अभिवृद्धि गर्न सहज हुने बताइएको छ।

नेपालमा तीव्र शहरीकरण, आधुनिक भवन निर्माण तथा पूर्वाधार विकासको बढ्दो क्रमसँगै बीआईएम प्रविधिको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गरिएको छ। सरकारी तथा निजी दुवै क्षेत्रमा डिजिटल निर्माण प्रणालीप्रति आकर्षण बढिरहेका बेला यस्ता तालिमले नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र कार्यशैलीसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास गरिएको छ।

आयोजकका अनुसार यस्ता प्राविधिक तथा व्यावसायिक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नेपालको इन्जिनियरिङ क्षेत्रलाई अझ सक्षम, नवप्रवर्तनमुखी र विश्वस्तरीय बनाउने लक्ष्य राखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।