अधिकमास अर्थात् मलमास सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा पर्ने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति का अनुसार आगामी असार १ गतेसम्म अधिकमास रहनेछ।

ज्योतिषीय गणनाअनुसार सौर र चान्द्र वर्षबीचको समय अन्तर मिलाउन निश्चित अवधिमा अधिकमास पर्ने गर्दछ। एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास वा मलमास भनिने ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेल ले बताए।

उनका अनुसार चान्द्र महिनाभित्र दुई वटा सङ्क्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ। ज्योतिषाचार्य भास्कराचार्यले आफ्नो ग्रन्थ ‘सिद्धान्त शिरोमणि’मा अधिकमास र क्षयमासको स्पष्ट व्याख्या गरेका छन्।

धर्मशास्त्रविद् एवं समितिका सदस्य देवमणि भट्टराई का अनुसार अधिकमासमा नित्य पूजा, पाठ, जप, ध्यान तथा पहिलेदेखि गर्दै आएको व्रतलाई निरन्तरता दिन सकिन्छ। तर विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहनिर्माण तथा नयाँ व्रत सुरु गर्ने जस्ता माङ्गलिक कार्य गर्न निषेध गरिएको छ।

अधिकमास (मलमास) मा के गर्ने ?
नित्य पूजा, पाठ, जप, ध्यान गर्ने
भगवान् विष्णु तथा नारायणको आराधना गर्ने
पुरुषोत्तममास माहात्म्य पाठ तथा कथा श्रवण गर्ने
पहिलेदेखि गर्दै आएको व्रतलाई निरन्तरता दिने
दान, धर्म तथा सत्कर्म गर्ने
अधिकमास (मलमास) मा के नगर्ने ?
विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहनिर्माण जस्ता माङ्गलिक कार्य नगर्ने
नयाँ व्रत वा धार्मिक अनुष्ठान सुरु नगर्ने
गर्भाधान सम्बन्धी कर्म नगर्ने
बृहस्पति र शुक्र अस्त भएका बेला निषेध गरिएका कार्य नगर्ने

धार्मिक मान्यताअनुसार अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ। विभिन्न धर्मग्रन्थमा भगवान् श्रीकृष्णले यस महिनालाई आफ्नो नामसँग जोडेर ‘पुरुषोत्तममास’ नाम दिएको उल्लेख गरिएको छ।

यसैबीच, अधिकमास सुरु भएसँगै मच्छेनारायण मन्दिर मा विशेष मेला पनि सुरु भएको छ। काठमाडौँको दक्षिणपश्चिम क्षेत्रमा रहेको मन्दिरमा अधिकमासभर लाखौँ भक्तजन दर्शनका लागि आउने गर्दछन्।

घनश्याम गिरी ले अधिकमास अवधिभर मच्छेनारायण क्षेत्रमा भगवान् नारायणको विशेष पूजा तथा पुरुषोत्तममास माहात्म्य वाचन गरिने जानकारी दिए।

धर्मग्रन्थहरूमा अधिकमासका समयमा भगवान् विष्णुको आराधना गरे पुण्य प्राप्त हुने विश्वास गरिन्छ। यसअघि २०८० साल साउन महिनामा अधिकमास परेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।