काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने भएका छन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा आज बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकारको तर्फबाट सांसदका प्रश्नको जवाफ दिनेगरी संसद् सचिवालयले कार्यसूची तय गरेको छ।
यसअघि संसद् सचिवालयले बुधबार सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री बालेन्द्र शाहले नै सांसदका प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो। तर, दिनभरि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै रहे पनि उनी संसद् बैठकमा उपस्थित नभएपछि विपक्षी दलहरूले चर्को विरोध जनाएका थिए।
प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नभएको विषयलाई लिएर प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले आपत्ति जनाएपछि बुधबार सभामुख डोलप्रसाद अयाल ले बैठक सञ्चालनका लागि पटकपटक प्रयास गरेका थिए। तर, विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने अडान नछाडेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।
प्रतिनिधिसभाको आजको दैनिक कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने उल्लेख गरिएको छ। कार्यसूचीको दोस्रो नम्बरमा राखिएको उक्त विषयमा ‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने’ उल्लेख गरिएको छ।


Comment