पोसाक संघद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सरकारले सार्वजनिक गरेको आगामी आव ०८३/८४ को नीति तथा कार्यक्रममा समावेश आर्थिक सुधार, औद्योगिक प्रवर्द्धन, डिजिटल रूपान्तरण, निर्यात अभिवृद्धि तथा लगानीमैत्री व्यवस्थासम्बन्धी कार्यक्रमलाई नेपाल तयारी पोसाक उद्योग संघले सकारात्मक भन्दै स्वागत गरेको छ।

संघले ‘लगानी एक्सप्रेस नीति’ मार्फत व्यवसाय दर्तादेखि निर्माण अनुमति, उद्योग सञ्चालन तथा अन्य प्रशासनिक प्रक्रियालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने सरकारी प्रतिबद्धताले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ। लामो समयदेखि उद्योग व्यवसायले भोग्दै आएको प्रक्रियागत जटिलता, ढिलासुस्ती तथा बहुनिकाय समन्वयको समस्यालाई समाधान गर्न यस प्रकारको नीति प्रभावकारी हुने संघले अपेक्षा गरेको छ।

त्यसैगरी स्टार्टअप, लघु, साना तथा मझौला उद्यमलाई वित्त, प्रविधि, बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध गराउन ‘राष्ट्रिय उद्यम प्रवर्द्धन सुविधा’ स्थापना गर्ने घोषणा उद्योग तथा उद्यमशीलताको विकासका लागि महत्त्वपूर्ण पहल भएको संघको धारणा छ। यसले नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्नुका साथै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने संघले विज्ञप्तिमार्फत जनाएको छ।

संघले विशेष रूपमा ‘ग्रिन गार्मेन्ट भिलेज’ सहित विशेष औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम विस्तार गर्ने सरकारी घोषणालाई ऐतिहासिक र उत्साहजनक निर्णयका रूपमा लिएको  जनाएको छ। विगत चार दशकदेखि तयारी पोसाक उद्योग क्षेत्रले उठाउँदै आएको माग सम्बोधन हुनु उद्योगीका लागि सकारात्मक सन्देश रहेको संघले जनाएको छ। यसबाट काठमाडौँ उपत्यका तथा अन्य स्थानमा छरिएर रहेका साना तथा मझौला तयारी पोसाक उद्योग व्यवस्थित औद्योगिक संरचनाभित्र ल्याउन सहयोग पुग्नेछ। साथै विदेशी खरिदकर्ता तथा अन्तर्राष्ट्रिय ग्राहकलाई उद्योगसम्म सहज पहुँच, उत्पादन अवलोकन तथा व्यापारिक समन्वय गर्न सुविधा पुग्ने संघले अपेक्षा गरेको छ। यसले औद्योगिक पर्यटन, शैक्षिक तथा व्यावसायिक भ्रमणसमेत प्रवर्द्धन गर्ने संघले विश्वास लिएको छ।

सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गरी डिजिटल व्यापारलाई प्रोत्साहन गर्ने नीति नेपाललाई आधुनिक र प्रतिस्पर्धी अर्थतन्त्रतर्फ उन्मुख गराउने महत्त्वपूर्ण आधार भएकाले डिजिटल प्लेटफर्ममार्फत विदेशी मुद्रा आर्जनका सम्भावना विस्तार हुने संघले अपेक्षा गरेको छ। साथै ‘स्टार्टअप नेपाल पोर्टल’ मार्फत एउटै डिजिटल माध्यमबाट कम्पनी दर्ता, कर छुट तथा बिउ पुँजीजस्ता सेवाहरू उपलब्ध गराउने व्यवस्था नवउद्यमीका लागि उपयोगी हुने पनि संघले जनाएको छ।

अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिने घोषणा निर्यात व्यापार, सेवा निर्यात, फ्रिलान्सिङ तथा डिजिटल कारोबारका लागि महत्त्वपूर्ण कदम भएकाले यसबाट विदेशी मुद्रा आर्जन, अन्तर्राष्ट्रिय कारोबार तथा कर व्यवस्थापन थप सहज र पारदर्शी बन्ने संघले अपेक्षा गरेको छ।

स्वदेशी उत्पादनको ब्रान्डिङ, प्रमाणीकरण तथा निर्यात प्रवर्द्धन गर्ने नीति नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोगी हुने विश्वास संघले लिएको छ। विशेष पहिचान भएका नेपाली उत्पादनको मूल्य अभिवृद्धि तथा विश्व बजारमा पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। ‘नेपाल व्यापार एकीकृत रणनीति’ तथा ‘व्यापार घाटा न्यूनीकरण कार्ययोजना’ को प्रभावकारी कार्यान्वयनप्रति सरकारको जोडले निर्यातमुखी उद्योगलाई थप प्रोत्साहन मिल्ने देखिएको पनि विज्ञप्तिमा उल्लेख छ।

नेपाललाई आगामी दशकभित्र सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने उद्देश्यसहित औसत सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, डिजिटल तथा नगदरहित अर्थतन्त्र निर्माण, रोजगार प्रवर्द्धन दशक घोषणा, नयाँ राष्ट्रिय रोजगार नीति तथा सुशासन सुधारसम्बन्धी कार्यक्रमहरूले समग्र निजी क्षेत्र र उद्योग व्यवसायमा सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ।

सरकारद्वारा घोषणा गरिएका नीति तथा कार्यक्रम प्रभावकारी र व्यवहारिक रूपमा कार्यान्वयन हुने संघले अपेक्षा व्यक्त गरेको छ। नीतिगत घोषणालाई शीघ्र कार्यान्वयनमा रूपान्तरण गर्न सके उद्योग, लगानी, उत्पादन, रोजगारी सिर्जना तथा निर्यात अभिवृद्धिमा उल्लेखनीय सकारात्मक परिणाम प्राप्त हुने संघको विश्वास छ।

सरकारसँग सहकार्य गर्दै नेपाली तयारी पोसाक उद्योगको विकास, स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा नेपालको निर्यात व्यापार अभिवृद्धिमा सक्रिय योगदान पुर्‍याउन संघ प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।