काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु गर्ने कार्यसूची रहे पनि प्रधानमन्त्रीको अनुपस्थितिपछि प्रतिनिधिसभा बैठक तनावग्रस्त बनेको छ ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने अवस्थामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जवाफ दिन तयार भएपछि विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।
विपक्षी सांसदहरूले प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै तीव्र विरोध जनाएका छन् । उनीहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर धारणा राख्नुपर्ने माग गरेका छन् ।
सदनमा विपक्षी सांसदहरूले “प्रधानमन्त्री कहाँ छन् ?” भन्दै नाराबाजीसमेत गरेका थिए । उनीहरूले प्रधानमन्त्रीको लगातार अनुपस्थितिलाई संसदको अवमूल्यन भएको टिप्पणी गर्दै तत्काल सदनमा उपस्थित गराउन सभामुखमार्फत माग गरेका छन् ।
प्रधानमन्त्री अनुपस्थित रहेपछि सत्ता र प्रतिपक्षबीच केही समय तनावको अवस्था सिर्जना भएको थियो । विपक्षी सांसदहरूले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीमार्फत जवाफ दिन खोजिनु संसदीय परम्परा विपरीत भएको आरोपसमेत लगाएका छन् ।

Comment