बजेट अधिवेशन आजदेखि, आजै नीति तथा कार्यक्रम पेश हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति Ram Chandra Paudel ले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नेछन्।

नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ।

संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई संयुक्त बैठक सुरु हुनुभन्दा १५ मिनेटअघि अर्थात् अपराह्न ३ः४५ बजेभित्र उपस्थित हुन अनुरोध गरेको छ। यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचना सदनलाई अवगत गराइने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस गर्ने कार्यसूची पनि रहेको छ।

यसैबीच सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि संसद्मा पेस गरिने भएका छन्। संसद् सचिवालयका अनुसार ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ वटा अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस हुने कार्यसूची रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।