स्वार्थप्रेरित कार्यले निरंकुशताको झल्को दिएको छ : कामु प्रधानन्यायधिश मल्ल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न न्यायाधीशहरूलाई आग्रह गरेकी छन्।

राजधानीमा शनिबार आयोजित कानुन दिवस सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई तिहाइ सरकार वा महाभियोगको डरबाट समेत मुक्त भएर अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गरेकी हुन्।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुखले उठाएको प्रश्नको जवाफ दिँदै कामु प्रधानन्यायाधीश मल्लले न्यायपालिका संविधानको स्पिरिट र सरकारको स्पिडमा चल्न सक्ने स्पष्ट पारिन्। यद्यपि, त्यसका लागि न्यायपालिकालाई स्रोत साधनले सम्पन्न बनाउनुपर्ने उनको भनाइ थियो।

‘डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्, ‘चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस्। चाहे त्यो महाभियोगको डर नै किन नहोस्।’

सम्बोधनका क्रममा मल्लले अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायको सार्वभौमसत्तालाई शिथिल बनाएर ‘आज्ञाकारी न्यायपालिका’ बनाउने प्रयास त भइरहेको छैन भन्दै गम्भीर प्रश्न उठाइन्। न्यायको अन्तिम गन्तव्यलाई आफ्नै स्वार्थ संरक्षणको मुकुण्डो बनाउने कुत्सित प्रयास हुन नहुनेमा जोड दिँदै उनले न्यायलाई प्रतिस्थापन गर्न धम्काउने र तर्साउने दुष्प्रयास भए त्यसले अनिश्चितता निम्त्याउने चेतावनी दिइन्।

यस्तो प्रवृत्तिका विषयमा सचेत गराउँदै उनले भनिन्, ‘एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न सकिन्न।’

संविधान राज्य सञ्चालनको कानुनी दस्तावेज मात्र नभएर नागरिकको जीवन पद्धतिको रूपमा रहनुपर्ने उनको भनाइ थियो। विगतमा कार्यकारिणीको स्वेच्छाचारिता र अनुचित हस्तक्षेपबाट न्यायपालिकालाई सुरक्षित राख्न योगदान गर्ने पूर्वप्रधानन्यायाधीश र न्यायकर्मीहरूको उनले स्मरण गरिन्।

साथै, उनले अनपेक्षित रूपमा भाद्र २३ र २४ गते घटेको घटनापछि न्यायपालिका विषम परिस्थितिमा पुगेको र क्षति भएका संरचना पुनर्निर्माणमा सहयोग गर्ने सरकार, बार एसोसिएसन, नागरिक समाज र युएन सिस्टमप्रति आभार प्रकट गरिन्। हाल न्यायपालिका ‘रिकभरी र रिफर्म’को एजेन्डासहित पुनरुत्थानतर्फ अग्रसर रहेको उनले जानकारी दिइन्।

संविधानलाई यथास्थितिमा राखेर वा विरूप पारेर गरिने काम क्रान्ति हुन नसक्ने बताउँदै उनले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित कार्यहरूले निरंकुशताको झल्को दिने उल्लेख गरिन्।

विधिको शासनविरुद्ध हुने षड्यन्त्रलाई चिर्न सबैले आँट र औकात देखाउनुपर्ने उनको भनाइ थियो। आफूले कानुन व्यवसायी हुँदादेखि नै जीवनभर विभेद र अन्यायविरुद्ध लडाइँ लडेको र त्यो लडाइँ अझै बाँकी रहेको बताउँदै मल्लले सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध हुन सबैलाई आग्रह गरिन्।

कार्यक्रमको अन्त्यमा उनले संविधानवाद, विधिको शासन, नागरिक हकअधिकार र न्यायपालिकाको स्वतन्त्रता संरक्षणका लागि आम नागरिक, सञ्चारमाध्यम लगायत सबै सरोकारवालालाई अपिल गरिन्।

राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिले राज्यका अङ्गहरूबिचको पुनर्मिलन र गौरवको अनुभूति गराएको बताउँदै उनले सम्पूर्ण अतिथि तथा न्यायकर्मीहरूमा कानुन दिवसको शुभकामना व्यक्त गरेकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।