काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन तथा निर्देशन उल्लंघन गरेको ठहर गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स
र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालि
लाई आर्थिक जरिवानासहित कारबाही गरेको छ।
प्राधिकरणले जारी गरेको निर्णयअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति बीमाको प्रिमियममा नियमविपरीत छुट दिएको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको हो। त्यस्तै, स्वामित्व परिवर्तन सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ‘सम्पत्ति बीमा निर्देशन, २०८०’ को दफा २५ उपदफा (२) को उल्लंघन गरेको देखिएको छ। उक्त व्यवस्थाअनुसार बीमालेख जारी गर्दा तोकिएको बीमा शुल्कमा कुनै पनि प्रकारको छुट, रियायत वा सहुलियत दिन पाइँदैन।
तर कम्पनीले नियमविपरीत प्रिमियममा डिस्काउन्ट दिएको पाइएपछि बीमा ऐन, २०७९ को दफा १३८ उपदफा (४) को खण्ड (क) बमोजिम कारबाही गरिएको प्राधिकरणले जनाएको छ। निर्देशनअनुसार बीमा अभिकर्ता प्रयोग नगरी सिधै बीमा गरिएको अवस्थामा मात्रै सीमित सहुलियत दिन सकिने व्यवस्था भए पनि अन्य अवस्थामा दिइने छुटलाई अवैध मानिएको छ।
यसैबीच, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले ‘पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८’ मा रहेको स्वामित्व परिवर्तन सम्बन्धी प्रावधान उल्लंघन गरेको ठहर गरिएको छ। निर्देशिकाको दफा १५ अनुसार नियामकको पूर्व स्वीकृतिबिना पुनर्बीमा दलाल संस्थाले स्वामित्व परिवर्तन, हस्तान्तरण वा विघटन गर्न पाउँदैन।
सोही व्यवस्था पालना नगरेको भन्दै कम्पनीलाई बीमा ऐन, २०७९ को दफा १३८ उपदफा (६) को खण्ड (क) बमोजिम जरिवाना गरिएको हो।
बीमा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्राधिकरणले पछिल्लो समय नियमनमा कडाइ गर्दै आएको छ। व्यवसाय विस्तारको नाममा अस्वस्थ प्रतिस्पर्धा गर्ने तथा गैरकानुनी छुटमार्फत प्रिमियम घटाउने प्रवृत्ति बढेपछि प्राधिकरणले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

Comment