काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को साउन–फागुनसम्म जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ बराबरको बीमा कारोबार गरेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख ४२ हजार ८३४ बीमालेख जारी गरी सो व्यापार भित्र्याएका हुन्।
अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा कुल कारोबार १४.७३ प्रतिशतले वृद्धि भएको छ। सर्वाधिक व्यवसाय नेपाल लाइफले भित्र्याएको छ। कम्पनीले फागुनसम्ममा ३२ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो आवको २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँको तुलनामा १२.१७ प्रतिशतले बढेको हो।
नेसनल लाइफ दोस्रो स्थानमा रहेको छ। कम्पनीले १५ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ, अघिल्लो आवको १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँको तुलनामा १०.०८ प्रतिशत वृद्धि भएको छ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) तेस्रो स्थानमा रहेको छ। कम्पनीले चालु आवमा १३ अर्ब ४६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, अघिल्लो आवको १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँको तुलनामा ७.१६ प्रतिशत वृद्धि भएको हो।
हिमालयन लाइफ चौथो, राष्ट्रिय जीवन बीमा पाँचौ, सूर्यज्योति लाइफ छैठौं, एसियन लाइफ सातौं, सिटिजन लाइफ आठौं, सानिमा रिलायन्स लाइफ नवौं, आइएमई लाइफ दशौं र मेट लाइफ एघारौं स्थानमा रहेको तथ्यांकले देखाएको छ।
यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ९५.१९ प्रतिशतले वृद्धि भएको छ भने आइएमई लाइफको ३०.३४ प्रतिशत र सिटिजन लाइफको १८.६१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै रिलायबल नेपाल, प्रभु महालक्ष्मी लाइफ र सन नेपालको व्यापार क्रमशः २३.०८, १४.०७ र १४.७३ प्रतिशतले बढेको छ।

Comment