काठमाडौं । झापाको मेचीनगर नगरपालिका–७, इटाभट्टामा निर्माणाधीन पाँचतारे होटल ‘अश्वत्थ’को पहिलो चरणको काम सम्पन्न भएको छ।
सन् २०१८ मा होटल अश्वत्थ प्रालिमा दर्ता भएको कम्पनीले पहिलो चरणको निर्माण सम्पन्न गरी दोस्रो चरणको काम तीव्रगतिमा अघि बढाएको जनाएको छ।
काँकडभिट्टाबाट करिब चार किलोमिटर पश्चिम, पूर्व–पश्चिम राजमार्ग छेउमै अवस्थित उक्त होटल दुई बिघा जग्गामा फैलिएको छ। होटलमा ८४ कोठा, क्यासिनोसहित अत्याधुनिक सुविधा रहने कम्पनीले जनाएको छ। रेस्टुरेन्ट, जिम, स्वीमिङ पुल लगायतका पूर्वाधार समेटिएको होटललाई आधुनिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको छ।
कम्पनीका अनुसार पाँचतारे होटल निर्माणका लागि करिब १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यसमध्ये लगानी संरचना ६९:३१ अनुपातमा रहने बताइएको छ।
हालसम्म ४४ वटा कोठा निर्माण कार्य पूरा भई सेवा–सुविधासहित सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ। दोस्रो चरणमा ४० कोठा र क्यासिनो निर्माण भइरहेको छ।
कम्पनीका अनुसार लगानीकर्ताले प्रतिबद्धता जनाएका रकममध्ये ११ करोड रुपैयाँ व्यवस्थापन भइसकेको छ भने कर्जा स्वीकृतिका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। हालसम्म होटल परियोजनाले ३९ प्रतिशत वित्तीय प्रगति गरेको छ।
होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ। दीर्घकालीन कर्जाका लागि १ अर्ब ६ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ करोड ८० लाख रुपैयाँ रेटिङ गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष प्रज्ज्वल घिमिरेका अनुसार होटलले सन् २०२७ को अप्रिलसम्ममा पूर्ण रूपमा व्यवसायिक सञ्चालनमा आउने लक्ष्य राखेको छ।

Comment