सुर्खेत । नेपाली कांग्रेस का सभापति गगन थापा ले आगामी पाँच वर्षलाई नेपालका लागि स्वर्णिम काल बनाउने वाचा गरेका छन्।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आगामी वर्षलाई परिवर्तनको वर्षका रूपमा चिनाउने महत्वको कुरा उठाए। उनले भने, ‘२०८२ देखि २०८७ सम्मको अबको पाँच वर्ष नेपालको स्वर्णीम काल बनाउँछौँ। पेटमा भोक छ, आँखामा सपना छ। उड्न चाहन्छौँ र जमीन छोडेका छैनौँ।’
सभापति थापाले सबै नागरिकले आधारभूत सुविधामा पहुँच पाउनुपर्नेमा जोड दिए। उनले स्वास्थ्य र शिक्षामा शुल्क नलाग्ने व्यवस्था गर्ने योजना उल्लेख गर्दै भने, ‘सबै नागरिकले पेटभरी खान पाउनु, कसैले उपचार गर्दा एक रुपैयाँ तिर्न नपरोस्, कसैले पढ्दा एक रुपैयाँ तिर्नु नपरोस्, यही सपना हो।’
थापाले अबका पाँच वर्षलाई राजनीतिक प्रयोग नगरी वास्तविक परिवर्तनका लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै भने, ‘पाँच वर्ष अर्को प्रयोग नगरौँ, परिवर्तनको वर्ष बनाउने हो।’

Comment