गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफ्नो पार्टीलाई मत नदिए देशका भ्रष्टाचारीहरू खुसी हुने बताएका छन्।
गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले मतदातालाई ‘घण्टी’ चिह्नमा मतदान गर्न आग्रह गरे। उनले मत विभाजन गर्ने प्रवृत्तिले रास्वपाको बहुमतमा असर पुग्ने तर्क गरे।
‘कहिलेकाहीँ सुनिन्छ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने,’ उनले भने, ‘भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन। रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी यस देशका भ्रष्टाचारीहरू हुनेछन्। तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो।’
उनले रास्वपालाई स्पष्ट बहुमत दिए पाँच वर्षको स्थायी र मजबुत सरकार गठन गर्ने प्रतिबद्धता जनाए। देशमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नका लागि स्थिर सरकार आवश्यक रहेको उनको भनाइ थियो।
सभापति लामिछानेले मतदातालाई एकताबद्ध भएर रास्वपालाई मत दिन आग्रह गर्दै परिवर्तन र सुशासनका लागि निर्णायक मत आवश्यक रहेको बताए।

Comment