तनहुँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तनहुँ निर्वाचन क्षेत्र नं. १ का प्रत्यक्षतर्फका उम्मेदवार अभिषेक जोशी ‘रुद्रम्श’ ले आफ्नो उम्मेदवारीप्रति सामाजिक सञ्जाल र जनस्तरमा अभूतपूर्व सद्भाव प्राप्त भएको दाबी गरेका छन्। चुनावी अभियानका क्रममा जोशीले राप्रपाको सिद्धान्त र एजेण्डाप्रति मतदाताहरूको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको बताएका हुन्।
जोशीका अनुसार उनको उम्मेदवारीले केवल मत संकलनमै सीमित नभई देशको मूल पहिचान, शासन प्रणाली र सुशासनका विषयमा व्यापक बहस सिर्जना गरेको छ। उनले राप्रपाले अघि सारेका राजसंस्था र हिन्दू राष्ट्रजस्ता एजेण्डामा जनताको स्पष्ट समर्थन देखिएको उल्लेख गर्दै नेपालको मौलिक पहिचान र दीर्घकालीन स्थिरताका लागि यी विषय अपरिहार्य रहेको धारणा व्यक्त गरे।
त्यस्तै, खर्चिलो र बोझिलो सावित भएको संघीय संरचनाअन्तर्गतको प्रदेश तह खारेज गरी राज्यको ढुकुटी जोगाउनुपर्ने मागमा समेत जनमत बलियो बन्दै गएको जोशीको भनाइ छ। भ्रष्टाचारमुक्त प्रशासन, सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्र नै राप्रपाको मुख्य संकल्प रहेको उनले स्पष्ट पारे।
कतिपय शुभेच्छुक तथा समर्थकहरूबाट प्राप्त प्रतिक्रियालाई उद्धृत गर्दै जोशीले आफ्नो प्रत्यक्ष उम्मेदवारीका कारण राप्रपाको समानुपातिक मतसमेत उल्लेख्य रूपमा बढिरहेको दाबी गरे। उनका अनुसार यो राष्ट्रियता, धर्म र संस्कृतिका पक्षमा जनमत मजबुत हुँदै गएको प्रमाण हो।
जोशीले गणतन्त्र र धर्मनिरपेक्षताको विकल्पका रूपमा राप्रपाको एजेण्डा स्थापित हुँदै गएको दाबी गर्दै जति धेरै मत यी एजेण्डाको पक्षमा पर्छ, त्यति नै अन्य राजनीतिक दलहरू पनि ढिलोचाँडो यही राष्ट्रवादी बाटोमा हिँड्न बाध्य हुने बताए। उनले राजसंस्था, हिन्दू राष्ट्र र सुशासनको पक्षमा विश्वास गर्ने सम्पूर्ण मतदाताहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ हलो चिह्नमा मतदान गरी राप्रपालाई बलियो बनाउन अपिल गरेका छन्।

Comment