कञ्चनपुर । नेपाली राजनीतिमा पछिल्ला वर्षहरूमा ‘नयाँ’ र ‘वैकल्पिक’ शक्तिका नाममा बढ्दै गएको घृणा, उत्तेजना र सामाजिक सञ्जाल–केन्द्रित राजनीतिप्रति प्रश्न उठिरहेका बेला कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार अनिल रानाले आफूलाई विचार, काम र उत्तरदायित्वमा आधारित विकल्पका रूपमा प्रस्तुत गरेका छन्।
हालै सार्वजनिक राजनीतिक बहसमा परिवर्तनको नाममा फैलाइँदै आएको आक्रोश, आरोप र चरित्रहत्या लोकतान्त्रिक मूल्यका लागि चुनौती बन्दै गएको टिप्पणी भइरहेका छन्। विश्लेषकहरूका अनुसार एल्गोरिदम–केन्द्रित सामाजिक सञ्जाल राजनीतिले सत्यभन्दा सनसनी र तथ्यभन्दा भावनालाई प्राथमिकता दिँदा राजनीति विचारको अभ्यासभन्दा प्रतिक्रियाको व्यापारजस्तो बन्दै गएको छ।
यही पृष्ठभूमिमा स्वतन्त्र उम्मेदवार रानाले ‘घृणा बेच्ने होइन, समाधान खोज्ने राजनीति’ आफ्नो प्राथमिकता भएको बताएका छन्। उनले राजनीति सत्तामा पुग्ने भर्याङ नभई समुदायको आवाज संसद्सम्म पुर्याउने माध्यम हुनुपर्ने धारणा राखेका छन्।
पत्रकारितामा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका राना हाल कानुन अध्ययनरत छन्। कानुनी र नीतिगत सुधार बिना देश परिवर्तन सम्भव नभएको उनको बुझाइ छ। सामाजिक क्षेत्रमा सक्रिय रहँदै उनले ‘श्री रानाथारु युवा शक्ति क्लब’ स्थापना गरी सरसफाइ, खानेपानी, सहकारीमार्फत अनुदान वितरणलगायतका काममा संलग्न हुँदै आएको दाबी गरेका छन्।
पहिचान र अधिकारको सवालमा रानाथारु भाषालाई कैलाली र कञ्चनपुरमा कामकाजी भाषा बनाउने अडान लिँदै आएका राना, नेपाल रानाथारु युवा समाजका महासचिवको हैसियतमा राजधानीमा उपचारका लागि आउने बिरामीहरूलाई सहयोग गर्दै आएको बताउँछन्।
युवाको विदेश पलायन रोक्न स्वदेशमै रोजगारी सिर्जना, निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा, करियर काउन्सिलिङ जस्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ। भ्रष्टाचार, लागू औषध दुरुपयोग र सीमा सुरक्षा जस्ता विषयमा पनि उनले निर्भिक आवाज उठाउँदै आएको दाबी गरेका छन्।
उनका प्रमुख प्रतिबद्धतामा सुशासन र पारदर्शिता, शिक्षा र स्वास्थ्यमा सुधार, उखु किसानको न्याय, युवा स्वरोजगार, बाढी नियन्त्रण, बन्यजन्तु आतंकको दीर्घकालीन समाधान, समावेशी प्रतिनिधित्व, सुकुम्बासी तथा मुक्त कमैया–हलियाका समस्या समाधान, भन्सार कार्यालय स्तरोन्नति र सडक पूर्वाधार विकास रहेका छन्।
रानाले ‘नाम मात्रको प्रतिनिधि होइन, काम गर्ने युवा रोजौँ’ भन्ने नारासहित कञ्चनपुर–१ का मतदातासँग चुनाव चिन्ह ‘क्यामेरा’ मा मतदान गर्न आग्रह गरेका छन्। उनका अनुसार वास्तविक परिवर्तन सूचना, सुधार र रूपान्तरणबाट मात्र सम्भव हुन्छ, घृणा र आक्रोशबाट होइन।
राजनीतिक विश्लेषकहरूका अनुसार आगामी निर्वाचनमा मतदाताले भावनात्मक उत्तेजनाभन्दा विचार, कार्यसम्पादन र उत्तरदायित्वलाई आधार मानेर निर्णय गर्नुपर्ने चुनौती र अवसर दुवै देखिएका छन्।

Comment