काठमाडौं । केएल दुगड र हुलास ग्रुपको संयुक्त लगानीमा ‘प्राइम स्टिल उद्योग’ स्थापना हुने भएको छ। स्टिल उत्पादनलाई मुख्य उद्देश्य बनाउँदै कम्पनीले ठूलो क्षमताको औद्योगिक परियोजना अघि बढाएको हो।
कम्पनीका अनुसार उक्त उद्योगबाट वार्षिक ६ लाख ५० हजार मेट्रिक टन स्टिल उत्पादन हुनेछ। सन् २०२२ मा स्थापना भएको कम्पनीले दुई चरणमा उद्योग निर्माण गर्ने योजना बनाएको छ।
पहिलो चरणअन्तर्गत एचआर स्ट्रिप उत्पादन गर्ने उद्योग स्थापना गरिनेछ, जसबाट वार्षिक ३ लाख ५० हजार मेट्रिक टन उत्पादन क्षमता रहनेछ। पहिलो चरणको उद्योग निर्माणका लागि मात्रै करिब ११ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ।
कम्पनीले लगानी संरचना ७५:२५ को अनुपातमा तय गरेको छ। हालसम्म करिब १५ प्रतिशत भौतिक तथा आर्थिक प्रगति भइसकेको कम्पनीले जनाएको छ। रेटिङ विवरणअनुसार कर्जाको व्यवस्थापन प्रक्रिया अघि बढिरहेको छ भने इक्वीटीतर्फ २८ प्रतिशत रकमको व्यवस्था भइसकेको छ।
कम्पनीमा सौरभ दुगडको ३३ प्रतिशत र हुलास ग्रुपका अध्यक्ष चन्द्रकुमार गोल्छाको १६ प्रतिशत स्वामित्व रहेको छ। उद्योग सञ्चालनका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जासहित करिब ११ अर्ब ५० करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ।
यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि ८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब २० करोड रुपैयाँको रेटिङ गराइएको हो।
पहिलो चरणको उद्योग निर्माण सम्पन्न गरी सन् २०२७ नोभेम्बरदेखि व्यावसायिक उत्पादन तथा कारोबार सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ।

Comment