यस्तो छ राष्ट्रिय झन्डा प्रयोगमा कांग्रेसको पाँच बुँदे परिपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय झन्डाको प्रयोगलाई लिएर मातहतका सबै पार्टी समितिहरूलाई पाँच बुँदे परिपत्र जारी गरेको छ। गृह मन्त्रालयले राष्ट्रिय झन्डाको अनुचित प्रयोग भए कानुनअनुसार कारबाही हुने चेतावनीसहित विज्ञप्ति जारी गरेपछि कांग्रेसले पार्टीभित्र औपचारिक निर्देशन दिएको हो।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माले सोमबार प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय समितिसहित सम्पूर्ण पार्टी निकायलाई परिपत्र पठाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

परिपत्रमा निर्वाचन आचारसंहिता अनुरूप चुनावी प्रचारप्रसारका क्रममा अधिकतम १० वटासम्म मात्र राष्ट्रिय झन्डा प्रयोग गर्न निर्देशन दिइएको छ। साथै राष्ट्रिय झन्डा व्यक्तिको शिरभन्दा माथि रहने गरी सम्मानपूर्वक फहराउनुपर्ने स्पष्ट गरिएको छ।

कांग्रेसले उम्मेदवार वा प्रचारकले राष्ट्रिय झन्डा शरीरमा ओढ्ने, पाखुरा, कम्मर वा घाँटीमा मफलर वा ज्याकेटझैँ बेर्ने कार्यलाई आचारसंहिता तथा राष्ट्रिय सम्मानविपरीत हुने भन्दै यस्ता गतिविधि नगर्न र गराउन नदिन कडा निर्देशन दिएको छ।

परिपत्रमा झन्डा झुकाउने प्रचलन मृत्युपछि शोकको अवस्थामा मात्र हुने तथ्यलाई ध्यान दिन आग्रह गरिएको छ। साथै कार्यक्रम स्थल, प्रचार कार्यालय वा सवारी साधनमा राष्ट्रिय झन्डा प्रयोग गर्दा पार्टीको झन्डा र चुनाव चिह्नभन्दा माथि फहराउनुपर्ने व्यवस्था पालना गर्न पनि निर्देशन दिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।