काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्दै एक अर्ब रुपैयाँ पुर्याउने योजना अघि बढाएको छ। दीर्घकालीन औद्योगिक विस्तार, उत्पादन लागत न्यूनीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई लक्ष्य गर्दै कम्पनीले आधुनिक रोटरी क्लिंकर प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो।
कम्पनीको सातौँ वार्षिक साधारणसभाले हाल कायम ५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। हकप्रद सेयरपछि चुक्ता पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ। त्यसपछि २० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गरी चुक्ता पुँजी एक अर्ब एक करोड रुपैयाँ पुर्याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।
पुँजी वृद्धिसँगै भूगर्भ सिमेन्टले प्रतिदिन ८०० देखि १,००० मेट्रिक टन क्षमताको आधुनिक रोटरी क्लिंकर प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। हाल कम्पनीको क्लिंकर उत्पादन क्षमता ३०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता ५०० मेट्रिक टन प्रतिदिन रहेको छ। नयाँ प्लान्ट सञ्चालनमा आएपछि आयातमा निर्भरता घट्ने र उत्पादन लागत कम हुने कम्पनीको दाबी छ।
कम्पनीले अर्घाखाँचीको नरपानी–रखाचीकोटस्थित आफ्नै खानीबाट चुनढुंगा उत्खनन गर्दै आएको छ, जहाँ दीर्घकालीन उत्पादनका लागि पर्याप्त कच्चा पदार्थ सुरक्षित रहेको जनाएको छ। कम्पनीको फ्याक्ट्री कपिलवस्तुको शिवराज नगरपालिका–६ मा र केन्द्रीय कार्यालय काठमाडौंको सिटिसी मलमा रहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कारोबार १ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ भने ३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। रोटरी प्लान्टसहितको विस्तार योजनाले रोजगारी वृद्धि र पश्चिम नेपालको निर्माण बजारमा गुणस्तरीय सिमेन्ट आपूर्तिमा थप योगदान गर्ने कम्पनीले जनाएको छ।

Comment