नुवाकोट क्षेत्र नं २ मा रास्वपाका दिनेश आचार्यको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चुनावी माहोल तातिँदै गएको बेला नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट दिनेश आचार्यले संघीय सांसद पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

रास्वपाले आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न आन्तरिक प्रतिस्पर्धाका आधारमा आवेदन आह्वान गरेसँगै आचार्यले औपचारिक रूपमा प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका हुन् ।

रास्वपाको केन्द्रीय मौद्रिक तथा वित्त विभागका सदस्य रहेका आचार्य राष्ट्रियस्तरका सेयर बजार विज्ञका रूपमा परिचित छन् । सो विभागको प्रमुखमा बिराजभक्त श्रेष्ठ रहेका छन् । लामो समयदेखि आर्थिक, वित्तीय तथा लगानी क्षेत्रसँग आबद्ध आचार्यले राष्ट्रिय पहिचान बनाइसकेका छन् ।

राजनीतिक पृष्ठभूमिको परिवारबाट आएका आचार्य नुवाकोटमा सामाजिक, आर्थिक र संस्थागत क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्ति हुन् । विगतमा नुवाकोटमा दर्जनौं सामाजिक तथा व्यावसायिक संस्थाको नेतृत्व गरेका कारण स्थानीयस्तरमै उनलाई उम्मेदवार बन्न आग्रह हुँदै आएको थियो ।

दिनेश आचार्य नुवाकोटमा परिचित र प्रभावशाली नाम मानिन्छन् । उनले आफ्नो करियर व्यावसायिक पत्रकारिताबाट सुरु गरेका थिए । पत्रकारितासँगै प्राध्यापन र कानुन व्यवसायमा समेत अनुभव हासिल गरेका आचार्य हाल सेयर बजार विज्ञ तथा मर्चेन्ट बैंकरका रूपमा परिचित छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै सक्रिय सदस्य हुन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले आचार्यलाई उम्मेदवारका रूपमा प्रस्ताव गरे पनि उनको पहलमा सुमनविक्रम पाण्डेलाई उम्मेदवार बनाइएको थियो । पाण्डेले हालसम्म पनि आचार्यलाई आफ्नो ‘राजनीतिक गुरु’ का रूपमा सम्मान गर्दै आएका छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए), मिडिया टेक्नोलोजीमा एमएमटी उत्तीर्ण गरेका आचार्यले कानुन विषयमा एलएलएम अध्ययन गरेका छन् । नुवाकोटको प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सम्मानित राजनीतिज्ञ स्व. विष्णु आचार्यका सुपुत्र दिनेश आचार्य स्पष्टवक्ता, तर्कशील र निडर बौद्धिक युवाका रूपमा चिनिन्छन् ।

हाल व्यावसायिक गतिविधिमा केन्द्रित आचार्य एलिट ग्रुप अफ कम्पनीजका अध्यक्ष हुन् । सो समूहअन्तर्गत एलिट क्यापिटल लिमिटेड, एलिट स्टक हाउस र एलिट इन्भेस्टमेन्टलगायतका कम्पनी सञ्चालनमा छन् । उनी मर्चेन्ट बैंकर र इक्विटी इन्भेष्टरका रूपमा विभिन्न वित्तीय संस्था, जलविद्युत् परियोजना, भेन्चर क्यापिटल तथा पर्यटनसम्बन्धी व्यवसायमा संलग्न छन् ।

उनकै अगुवाइमा २०६५ सालमा नुवाकोटमा ‘हाम्रो विकास बैंक’ स्थापना गरिएको थियो । स्थानीयस्तरमा बैंकिङ सेवा विस्तारमा उदाहरणीय भूमिका खेलेको उक्त बैंकमा आचार्य निर्देशक तथा अध्यक्षसमेत रहेका थिए । हाल उक्त बैंक ज्योति विकास बैंकसँग मर्ज भइसकेको छ ।

यसका अतिरिक्त नुवाकोटको ग्रीनलाइन ग्रुपका संस्थापक अध्यक्ष रहेका आचार्यको पहलमा ग्रीनलाइन सहकारी, ग्रीनलाइन इन्जिनियरिङ कन्सल्टेन्सी र ग्रीनलाइन नेपाल सञ्चालनमा छन् । उनी नुवाकोट रेडक्रस सोसाइटीको नेतृत्व तहमा १२ वर्षसम्म आबद्ध रही विभिन्न सामाजिक संस्थामा सक्रिय भूमिका निर्वाह गरिसकेका छन् ।

२०५४ सालमा नुवाकोटबाट पत्रकारिता सुरु गरेका आचार्यले करिब २५ वर्षअघि ‘त्रिशूली प्रवाह’ साप्ताहिकमा सुरु गरेको ‘तितो तथ्य’ स्तम्भ एक दशकसम्म नुवाकोटमा अत्यन्त चर्चित र खोजी–खोजी पढिने स्तम्भका रूपमा स्थापित थियो ।

सामाजिक सञ्जालको पहुँच नहुँदा पनि त्यो समयमा दिनेश आचार्य नुवाकोटमा सबैले खोज्ने नाम बनेका थिए । पछि काठमाडौं आएपछि सेयर बजारलाई मुख्यधारको मिडियामा स्थापित गराउने प्रारम्भिक व्यक्तिहरूमध्ये उनी एक मानिन्छन् । पत्रपत्रिका, रेडियो र टेलिभिजनमार्फत नेपाली पुँजीबजारलाई जनस्तरसम्म पुर्‍याउने श्रेय पनि उनलाई दिइन्छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गरेपछि प्राध्यापन र कानुन व्यवसायमा संलग्न आचार्य पछिल्लो समय बहुआयामिक व्यवसायिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।