आयोगद्वारा निर्वाचन प्रयोजनका लागि सवारीसाधन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि पाँच सय थान सवारी साधन (दुई पाङ्ग्रे, चार पाङ्ग्रे र हेभी ट्रक) सरकारसँग माग गरेको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आयोगका सवारीसाधनमा समेत आगजनी तथा तोडफोड भएको थियो। यस कारण नयाँ गाडी खरिद गर्नु अनिवार्य भएको आयोगको भनाइ छ। यसका लागि आयोगले गृह मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको बताएको छ।

आयोगका अनुसार जेनजी आन्दोलनमा जिल्ला निर्वाचन कार्यालयका कूल ९ वटा सवारीसाधनमा क्षति पुगेको छ। जसमध्य तीनवटा सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएको छ।

‘निर्वाचनलाई निष्पक्ष र सफल बनाउनका लागि सवारीसाधन अपरिहार्य छ। जिल्ला निर्वाचन कार्यालयहरूको लागि पुराना र क्षतिग्रस्त सवारी साधनको प्रतिस्थापन गर्नुपर्ने छ,’ आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले भने, ‘कर्मचारी परिचालन, प्रमुख र मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, पर्यवेक्षक र अनुगमन टोलीका लागि र निर्वाचन सामग्री ढुवानीका लागि केही ट्रकहरू पनि आवश्यक छ।’

उनका अनुसार काठमाडौंसहित दाङ, चितवन र सप्तरीमा पनि आयोगका सवारीसाधन पूर्ण रूपमा जलेका छन्। बाँकी क्षतिग्रस्त कार्यालयहरूमा गण्डकी प्रदेशका लगभग सबै कार्यालय, डडेलधुरा र इलाममा समेत रहेका छन्।

उनले गाडी खरिदका लागि आफूहरूसँग पर्याप्त स्रोत नभएको बताए। सबै रकम अनुदानबाटै व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको र विगतमा जस्तै यस पटक पनि छिमेकी देशले अनुदान गर्ने अपेक्षा रहेको उनको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।