काठमाडौँ । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २९.२३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले अर्थमन्त्री रामेश्वर खनालसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व गत वर्ष असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भएको हो ।
असार मसान्तमा बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको प्रतिवेदन राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले अर्थमन्त्री खनालसमक्ष पेस गरेका हुन् ।
गत असार मसान्तको कुल दायित्व तथा इक्विटीमा दायित्वको अंश ७४.६९ प्रतिशत रहेको छ भने इक्विटीको अंश २५.३१ प्रतिशत छ, जुन गत वर्षको असार मसान्तमा क्रमशः ७३.४५ प्रतिशत र २६.५५ प्रतिशत थियो । गत असार मसान्तमा कायम कुल दायित्वमा चलनचल्तीमा रहेको नोटको अंश ३७.६० प्रतिशत, बैङ्क तथा वित्तीय संस्थाको स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप दायित्वको अंश ५२.७९ प्रतिशत, नेपाल सरकारको निक्षेप दायित्वको अंश ३.५५ प्रतिशत र बाँकी अन्य दायित्वको अंश ६.०७ प्रतिशत रहेको छ ।
गत असार मसान्तमा उक्त दायित्वको अंश क्रमशः ४४.७९ प्रतिशत, ४३.४१ प्रतिशत, ४.२१ प्रतिशत र ७.५९ प्रतिशत थियो ।
बैंकको नगद तथा बैंक मौज्दात सम्पत्ति २०८१ असार मसान्तको तुलनामा ४८.५१ प्रतिशतले बढेर समीक्षा अवधिमा एक खर्ब ९५ अर्ब ५३ करोड १० लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्षको असार मसान्तमा नगद तथा नगद सरहको सम्पत्ति एक खर्ब ३१ अर्ब ६६ करोड ४५ लाख २२ हजार रुपैयाँ थियो ।
राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार २०८२ असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो ।
बैंकले विभिन्न उपकरणमा गरेको लगानी २०८१ असार मसान्तको तुलनामा २८.७९ प्रतिशतले बढेर २३ खर्ब ७५ अर्ब २६ करोड दुई लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको असार मसान्तमा उक्त लगानी १८ खर्ब ४४ अर्ब ३० करोड ३८ लाख ३५ हजार रुपैयाँ थियो ।
प्रतिवेदन अनुसार आव २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभहानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ कायम भएको छ । गत असार मसान्तमा कायम कुल सम्पत्तिमा लगानीको अंश ८८.९२ प्रतिशत, नगद तथा बैंक मौज्दात सम्पत्तिको अंश ७.३२ प्रतिशत र बाँकी अन्य सम्पत्तिको अंश ३.७६ प्रतिशत छ । गत वर्षको असार मसान्तमा उक्त सम्पत्तिको अंश क्रमशः ८९.२३ प्रतिशत, ६.३७ प्रतिशत र ४.४१ प्रतिशत थियो ।
गत वर्षको असार मसान्तको तुलनामा चलनचल्तीमा रहेको नोट १०.३० प्रतिशतले बढेर समीक्षा अवधिमा सात खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको असार मसान्तमा छ खर्ब ८० अर्ब चार करोड ८८ लाख तीन हजार रुपैयाँ थियो ।
बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप गत वर्षको असार मसान्तको तुलनामा ५९.८१ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा १० खर्ब ५३ अर्ब १७ करोड ९१ लाख ४० हजार पुगेको छ ।
गत वर्षको असार मसान्तमा त्यस्तो निक्षेप दायित्व छ खर्ब ५९ अर्ब तीन करोड ७१ लाख २४ हजार रहेको थियो ।
२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा कुल इक्विटीमा २३.१८ प्रतिशतले वृद्धि भएको छ । यस अन्तर्गत जगेडा कोष २३.३९ प्रतिशतले वृद्धि भई ६ खर्ब ७१ अर्ब २ करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ । २०८१ असार मसान्तमा उक्त कोष ५ खर्ब ४३ अर्ब ८१ करोड ८१ लाख ३८ हजार रुपैयाँ रहेको थियो । २०८१ असार मसान्तमा यस बैंकको शेयर पुँजी ५ अर्ब रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा समेत सोही रकम कायम रहेको छ ।

Comment