काठमाडौँ । नेपालको पर्यटन क्षेत्र पर्वतारोहणले नै धानेको छ भन्दा फरक पर्दैन । नेपालको पर्यटन क्षेत्रको सर्वाधिक आम्दानी नै पर्वतीय पर्यटनबाट हुने गरेको छ ।
नेपालमा साना–ठूला गरी ३ हजारभन्दा बढी हिमाल तथा पर्वत छन् । यीमध्ये अधिकांशमा पर्यटन गतिविधि हुने गरेका छन् । यसबाट राज्यलाई वार्षिक करोडौं राजस्व संकलन गर्छ भने स्थानीय बासिन्दाले समेत रोजगारी, आयआर्जन र व्यवसायको अवसर पाएका छन् ।
नेपालमा पर्वतारोहण र पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा पर्यटकीय क्षेत्रमा आम्दानी बढाउने मुख्य आधार मानिने पर्वतीय पर्यटन (हिमाल आरोहण) हो । सोही पर्वतीय पर्यटन प्राप्त हुने रोयल्टीमा यो वर्ष पछिल्लो तिन वर्ष यताकै उच्च उपलब्धी हासिल भएको छ । पर्यटन विभागको तथ्यांक अनुसार आन्तरिक र बाह्य दुबै पर्यटकको संख्या बढ्दा रोयल्टी संकलनमा पनि वृद्धि भएको हो । जसले राष्ट्रिय अर्थतन्त्र र स्थानीय रोजगारीमा पनि सुधार भएको छ ।
विभागको सन् २०२३ देखि सन् २०२५ सम्मको तथ्यांक हेर्दा हिमालमा आरोहणमा सर्वाधिक आकर्षणसँगै राजस्व संकलनमा समेत राम्रो उपलब्धी हासिल भएको छ ।
पछिल्लो तीन वर्षको पर्वतारोहण परिदृश्य अनुसार हिमाल आरोहणतर्फ यस वर्ष आरोहण अनुमति लिनेको संख्या र राजस्व संकलनमा सर्वाधिक प्रगति देखिएको विभागका निर्देशक हिमाल गौतमको भनाई छ ।
पर्यटनसँग जोडिएको एक महत्वपूर्ण क्षेत्र पर्वतीय पर्यटन भएको नेपाल पर्यटन विभागका निर्देशक गौतमले बताए । ‘यसको महत्व नेपालमा अत्यधिक छ,’ उनले भने, ‘अन्तरराष्ट्रिय स्तरमा पनि यसलाई उत्तिकै महत्व दिइएको छ ।’ प्रविधिको उच्चतम प्रयोग, पूर्वाधारको सहज पहुँच, सचेतना जस्ता पक्षमा काम भए पर्वतीय पर्यटन क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उनको बुझाइ छ ।
नेपालको सिंगो पर्यटन क्षेत्रमा पर्वतीय पर्यटनको हिस्सा ठूलो छ । पर्वतीय पर्यटन व्यवसाय फस्टाएसँगै यससँग सम्बन्धित संघ÷संस्थाको संख्या पनि बढ्दै गएको उनले बताए । आगामी दिनमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पूर्वाधार विकास, सडक स्तरोन्नति, नीतिगत सुधार जस्ता कामलाई प्राथमिकता दिन जरुरी भएको गौतमले उल्लेख गरे ।
विभागका अनुसार यस वर्षको शरद ऋतुमा ८३ देशका १९० टोलीले पर्वतारोहण अनुमती लिएका छन् । उक्त टोलीमा रहेका एक हजार ५३८ जना आरोहीहरुले नेपालका ६२ हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । जुन तीन वर्ष यता कै उच्च रहेको विभागले जनाएको छ । सो संख्यामा पर्वतारोहीहरुले हिमाल आरोहणका लागि अनुमति लिँदा २६ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै, गत वर्ष सन् २०२४ को सोही अवधिमा नेपालको ४६ हिमाल आरोहण गर्न ७३ देशका १ हजार २८० जनाले अनुमति लिएका थिए । उक्त पर्वतारोहीले हिमाल आरोहण गर्दा ७ करोड ६३ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो । सन् २०२३ को सो अवधिमा ७६ देशका १ हजार ३२६ जना आरोहीहरुले अनुमती लिएका थिए भने ७ करोड ८१ लख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।
नेपालको समृद्धिको एउटा मुख्य आधार पर्यटन भएकोले पर्वतीय पर्यटनको प्रवद्र्धनका लागि राज्यले विशेष महत्व दिनुपर्ने उनी बताउँछन् । नयाँ पिकहरु खुल्ला गर्दै जाने, खुल्ला गरिएका पिकहरुको प्रचारप्रसारमा जोड दिने र यसमा संलग्न व्यवसायीहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको गौतमको भनाई छ ।
होटल तथा लज सञ्चालन गर्ने व्यवसायीहरुलाई राज्यले कर छुट दिन सकेमा उनीहरु उत्साहीत भएर व्यवसाय सञ्चालन गर्न सक्नेछन् । यस्तो हुँदा नेपालमा नै रोजगारीको अवसर प्राप्त हुनुका साथै अर्थतन्त्रमा ठूलो सहयोग हुने गौतमले बताए ।

Comment