मधेस प्रदेश प्रमुखले होटलमै शपथ खुवाएर देशकै अस्मिता समाप्त पारिन्: मनीष झा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटलमै मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहण गराएको घटनाप्रति चौतर्फी आलोचना भइरहेको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले पनि उक्त घटनाप्रति कडा आपत्ति जनाएका छन्।
उज्यालो नहुँदै सोमबार बिहान राजधानी काठमाडौँ जाने भन्दै जनकपुरबाट प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटलमा एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्दै त्यहीं शपथ गराएकी थिइन्। उनले त्यही अवसरमा तीन जना प्रदेश सांसदलाई पनि मन्त्री नियुक्ति गर्दै शपथ खुवाएकी थिइन्।
भण्डारीको उक्त कार्यलाई असंवैधानिक र गैरजिम्मेवार भन्दै राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया आएको छ। रास्वपाका प्रवक्ता मनीष झाले सामाजिक सञ्जालमार्फत लेखेका छन्–
‘स्वास्थ्य समस्या छ, उपचारको लागि काठमाडौँ जाँदै छु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली-महोत्तरीको सिमानाको होटलमा एमालेको एक प्रदेश सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा शपथ गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन्। यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन सक्दैन। विरोध छ।’
यस घटनापछि मधेस प्रदेशमा नयाँ राजनीतिक विवाद उब्जिएको छ भने प्रदेश प्रमुखको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन्। विपक्षी दलहरूले उक्त कार्यलाई ‘संविधान र लोकतान्त्रिक मूल्यको अपमान’ भन्दै भण्डारीको राजीनामा माग गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।