काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । साथै उनले सुशासन, संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए ।
सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एनटीभी वल्र्डको शुभारम्भ समारोहमा राष्ट्रपतिले लोकतन्त्रलाई बलियो बनाउने युवाको चाहना पूरा गर्न तथा निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रपतिले लोकतन्त्रको सुदृढीकरण र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमले नागरिकलाई सूसुचित गराउने कर्तव्यबाट च्युत हुन नहुने बताए । स्वतन्त्र स्वायत्त संस्थाका रूपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको उल्लेख गर्दै राष्ट्रपतिले लोकतान्त्रिक मूल्यमान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्मअनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्ने विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात् हुने विश्वास व्यक्त गरे।
सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो र सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व हो भन्दै उनले केही समययता गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।
राष्ट्रपति पौडेलले इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको, सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम प्रविधिको विकाससँगै भित्रिएको र नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको वर्तमान परिप्रेक्ष्यमा प्रविधिको दुरुपयोग गरेर जनतालाई दिग्भ्रमित पार्न सक्ने जोखिमबाट जोगाउनु आमसञ्चारमाध्यमको दायित्व भएको स्मरण गराए ।
\सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी कार्यक्रममा राष्ट्रपतिले ‘एनटिभी वल्र्ड’को शुभारम्भ गरे । त्यसअवसरमा पीएसबीको लोगो र ‘मोबाइल एप’ सार्वजनिक गरिएको थियो ।
नयाँ कानुनबमोजिम नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरण भएपछि पीएसबी नेपालको प्रथम वार्षिकोत्सव मनाइएको हो । पीएसबी नेपालका अध्यक्ष महेन्द्र विष्टले ‘नागरिक प्रथम’को अवधारणाअनुरुप प्रसारण सेवालाई रुपान्तरण गरिँदै लगिएको बताए । रासस

Comment