काठमाडौं ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका नाममा उद्योगी तथा व्यवसायीमाथि भएको आक्रमणलाई अस्वीकार्य बताएकी छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले आन्दोलनका नाममा निजी क्षेत्रमाथि आक्रमण गर्नु लोकतान्त्रिक मूल्य र आर्थिक स्थायित्व दुवैका लागि हानिकारक रहेको बताइन् ।
उनले भनिन्, “भ्रष्टाचार, दलगत कमिसनको सञ्जाल सह्य छैन । लोकतन्त्रको नाममा लुटतन्त्र हामीलाई स्वीकार्य छैन । इमानदार उद्योगीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्ने पोसिने अवस्था ठिक होइन।”
प्रधानमन्त्री कार्कीले पछिल्ला घटनाले निजी क्षेत्रमा असुरक्षा र निरासा फैलाएको भन्दै सरकारले लगानीमैत्री वातावरण बनाउन प्राथमिकता दिने प्रतिवद्धता जनाइन् ।
उनका अनुसार, “हाम्रो अर्थतन्त्रको जग रेमिट्यान्स, प्राकृतिक स्रोत र पर्यटन बलियो हुँदाहुँदै पनि संरचनागत कमजोरी र पुँजी पलायनका कारण मिहिनेतअनुसारको फल पाउन सकेका छैनौं । युवाहरूले देशमा काम पाउन नसकेर विदेशिनु परेको छ । उद्योगधन्दामा लगानी नबढ्नु, बैंकको ऋण नउठ्ने समस्या र बजारमा निराशा छाएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।”
प्रधानमन्त्री कार्कीले मुलुकले पछिल्ला दशकमा राजनीतिक आन्दोलन, भूकम्प, कोरोना महामारी र प्राकृतिक विपद्का चुनौती झेले पनि अहिलेको चुनौती फरक प्रकृतिको रहेको बताइन् ।
उनले भनिन्, “अबको चुनौती आत्मविश्वास र सूचनासँग जोडिएको छ । पारदर्शिता, उत्तरदायित्व र लगानीको सुरक्षाका माध्यमबाट मात्र देशको अर्थतन्त्र सुदृढ बन्न सक्छ ।”
कार्यक्रममा उद्योगी, व्यवसायी, बैंकर्स र अर्थविद्हरूले पनि निजी क्षेत्रमाथिको विश्वास पुनःस्थापना गर्न सरकारसँग ठोस कदम अपेक्षा गरेका थिए ।
– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय आर्थिक बहस २.० मा शनिबार गरेको सम्बोधन।

Comment