काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७९ लाई सामयिक आवश्यकताअनुसार परिमार्जन गर्नका लागि बीमा कम्पनीका प्रतिनिधिहरूसँग छलफल तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।
प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा बिहीबार सम्पन्न उक्त कार्यक्रममा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिकाको संशोधन मस्यौदा र पहिलो पटक ल्याउन लागिएको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामाथि विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको उद्देश्य प्राधिकरणले तयारी गरिरहेका दुवै मस्यौदाहरूमा बीमकका वास्तविक रायसुझाव संकलन गर्नु रहेको प्राधिकरणले जनाएको छ। साथै, नेपाल सरकारबाट प्रदान हुने बीमा अनुदानका लागि सिफारिश प्रक्रिया, कृषि बीमा रियल टाइम सफ्टवेयरको हालको अवस्था, आइपरेका समस्या तथा समाधानका उपायबारे पनि सहभागीबीच विचारविमर्श भएको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिकालाई समयअनुसार सुधार गर्न प्राधिकरण सक्रिय रहेको बताउँदै बीमकहरूलाई व्यावहारिक सुझाव दिन आग्रह गरे। उहाँले पहिलो पटक ल्याउन लागिएको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदा पनि बीमा क्षेत्रका सरोकारवालाको रायअनुसार अन्तिम रूप दिने जानकारी दिनुभयो।
सुवेदीका अनुसार, बीमकहरूबाट प्राप्त सुझावहरूलाई समेटी दुबै निर्देशिकाहरूलाई छिट्टै अन्तिम रूप दिइनेछ।
कार्यक्रममा प्राधिकरणका निर्देशकहरू, कृषि बीमा शाखाका कर्मचारीहरू, साथै देशभरका निर्जीवन बीमा कम्पनीका कृषि विभाग प्रमुखहरूको सहभागिता रहेको थियो।
Comment