काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष जाहेरी दिएको छ।
नेविसंघका केन्द्रीय सदस्य मनिषजंग थापा, अशोक सिंह बिष्ट र विजय शाहले संयुक्त रूपमा हस्ताक्षर गरी आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका हुन् । उनीहरूको जाहेरीलाई आवश्यक अध्ययनपछि दर्ता प्रक्रिया पूरा गर्ने जनाएको छ ।
भदौ २३ र २४ गते जेन–जी समूहले सञ्चालन गरेको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी कार्यालय तथा नेताहरूका आवासमा तोडफोड र आगजनी भएका थिए।
नेविसंघले सो घटनामा विद्यालय पोसाक लगाएका विद्यार्थीहरूलाई प्रयोग गरेर आन्दोलनमा घुसपैठ गराएको, राष्ट्रिय सम्पदामा क्षति पुर्याएको र सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराउन भूमिका खेलेको आरोप लगाउँदै मेयर शाह र गुरुङविरुद्ध काठमाडौं र ललितपुर प्रहरी परिसरमा किटानी जाहेरी दिएको जनाएको छ।
यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि यही विषयमा शाह र गुरुङविरुद्ध जाहेरी दिएको थियो ।



Comment