काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले हालै ग्राहकहरूको व्यक्तिगत विवरण निकाल्नका लागि अनाधिकृत व्यक्तिहरूद्वारा फोन र इमेल मार्फत ठगीका गतिविधिहरू भइरहेको जानकारी दिँदै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ।
माेवाइलमा आउने प्रकारका सन्देश तथा अफरहरूबाट ठगी हुन सक्ने भन्दै बेंकले आफ्ना ग्राहकहरूलाई सचेत रहन भनेकाे छ ।
केही अनाधिकृत व्यक्तिहरूले बैंकको नाममा झुटा अफर र योजनाहरूको बारेमा बताइ आर्थिक लाभको प्रलोभनमा पार्ने काम गरिरहेकाे बैंकले जनाएकाे छ ।
राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिले कहिल्यै फोन, इमेल, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट ग्राहकसँग व्यक्तिगत विवरण, जस्तै एटीएम पिन, मोबाइल बैंकिङ वा ई-बैंकिङका ओटीपी, पासवर्ड, इमेल जानकारी आदि नमाग्ने पनि बैैकले स्पष्ट पारेकाे छ ।
‘हामी हाम्रो ग्राहकहरूलाई यस्ता शंकास्पद गतिविधिहरूमा विश्वास नगर्न र कुनै पनि शंका भएको अवस्थामा नजिकैको शाखा कार्यालय वा बैंकका आधिकारिक सम्पर्क नम्बरहरूमा मात्र सम्पर्क गर्न आग्रह गर्दछौं’ बैंकले भनेकाे छ ।
साथै, बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत सबै सूचना, अफर र योजनाहरू प्रकाशित गर्ने जानकारी पनि गराएको छ। यसरी, ग्राहकहरूले बैंकका सबै आधिकारिक सूचना र योजनाहरूको बारेमा प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
राष्ट्रिय वाणिज्य बैंकले सुरक्षित बैंकिङ कारोबारका लागि प्रतिबद्ध रहेको जनाएको छ र यस्ता ठगीजन्य गतिविधिहरूविरुद्ध सम्पूर्ण ग्राहकहरूलाई सजग र सचेत रहने अपिल गरेको छ।
Comment