काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनको गम्भीर आत्मसमीक्षा गर्दै मुलुकमा थप मुठभेड र द्वन्द्व हुन नदिन सबै पक्षलाई आह्वान गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले ऐतिहासिक जेनजी विद्रोहको एक महिना पूरा भएको अवसरमा अब द्वन्द्व होइन, अग्रगामी रूपान्तरणसहितको दिगो शान्ति र समृद्धिको मार्गप्रशस्त गर्न सबैले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
डा. भट्टराईले आफ्नो सन्देशमार्फत चार बुँदे सुझाव पनि दिएका छन्। उनका अनुसार, जेनजी विद्रोह पुराना दल र तिनका नेतृत्व, विशेषतः गत दशकमा पालैपालो सत्ता सम्हालेका तीन दलका शीर्ष नेताहरूको सत्तालिप्सा, कुशासन र भ्रष्टाचारका कारण युवाहरूमा उत्पन्न आक्रोशको परिणाम हो भन्ने तथ्य आत्मसात गर्नुपर्छ। साथै, राज्यका अंगहरूमा दलीयकरण र क्षयको अवस्था हुँदा जनआक्रोश कसरी विस्फोट हुन सक्छ र संवेदनशील भूराजनीति कस्तो सक्रिय हुन्छ भन्ने कुरा पनि गम्भीर रूपमा बुझ्नुपर्ने उनले उल्लेख गरे।
उनले लोकतन्त्रमा राजनीतिक दलहरू नै सुशासन र समृद्धिका प्रमुख खम्बा हुने भएकाले पुराना दलहरूको रूपान्तरणसहित पुस्तान्तरण र नयाँ तथा वैकल्पिक शक्तिहरूको ध्रुवीकरणमार्फत देशलाई पुनर्निर्माण र नवनिर्माणको गतिशील मार्गमा डोर्याउनुपर्ने सुझाव दिएका छन्। साथै, जेनजी युवाहरूका जायज माग—आन्दोलनमाथि हिंस्रक दमन गर्नेहरू र ठूला भ्रष्टाचारीहरूविरुद्ध तुरुन्त कारबाही, उम्मेदवार हुन न्यूनतम उमेर २५ वर्षबाट घटाएर २१ वर्ष कायम गर्ने, र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्था गर्ने—पूरा गर्नुपर्ने उनको भनाइ छ।
डा. भट्टराईले अन्त्यमा चेतावनी दिएका छन् कि जो अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने दुष्कर्म गर्छ, उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्ने छैन। उनका अनुसार, अबको समय भावनात्मक प्रतिक्रियाभन्दा पनि राजनीतिक रूपान्तरण र जिम्मेवार संवादतर्फ अग्रसर हुनुपर्ने हो।

Comment