बाढी पहिरोको कारण कुन प्रदेशमा कति क्षति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार रातिदेखिको लगातारको वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी र पहिरोको समस्या देखिएको छ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा मानवीय र भौतिक क्षति भएको छ। कैयौं ठाउँमा सडक अवरुद्ध छन् भने जनजीवन प्रभावित बनेको छ।

सबैभन्दा बढी क्षति इलाम जिल्लामा भएको छ। प्रहरीका अनुसार आइतबार बिहानसम्म पहिरोका कारण १८ जनाको मृत्यु पुष्टि भइसकेको छ। पहिरोले सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम र इलाम नगरपालिकाका विभिन्न भागमा जनधनमा ठूलो क्षति पुर्‍याएको हो।

सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३, देउमाई नगरपालिका–५ मा ३, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको छ। इलामका ग्रामीण सडकहरू पहिरोका कारण अवरुद्ध छन्।

झापा जिल्लामा कनकाई माई खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ, जसका कारण यातायात पूर्ण रूपमा बन्द छ। झापा गाउँपालिका–२ मा मात्र ५ सय घरपरिवार डुबानमा परेका छन्। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ।

मधेस प्रदेशका पर्सा र रौतहट जिल्लामा डुबान र चट्याङका कारण क्षति पुगेको छ। वीरगञ्जको बसपार्कस्थित प्रहरी कार्यालय डुबानमा परेको छ। वीरगञ्ज–११, धोविनी–५, जगरनाथपुर–३ र बौद्धमाई क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गएको छ।

चन्द्रपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पानीको तीव्र बहावका कारण सवारी अवरुद्ध भएको छ। महोत्तरीको बर्दिवास–५ मा रूख ढलेर राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

काठमाडौं महानगरपालिका–१४ को कोहिनुर हाउजिङ नजिक करखुसी खोलाले सडक कटान गर्दा २८ घर प्रभावित भएका छन्। ५०० जना भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ। भक्तपुरमा सागवारी र मध्यपुर ठिमीमा केही घर डुबानमा परेका छन् भने चाँगुनारायणका वडाहरूमा पहिरोको जोखिम देखिएको छ।

ललितपुरको गोदावरी–१४ ठेँबमा पर्खाल भत्किँदा ३ जना घाइते भएका छन्। अन्य मानवीय क्षति नभएको जनाइएको छ।

देशका प्रमुख राजमार्गहरू पनि अविरल वर्षाका कारण अवरुद्ध भएका छन्। बिपी राजमार्गको मंगलटार–सिन्धुली खण्डमा पाँच–छ ठाउँमा सडक भासिएको छ। मुग्लिन–पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा छ भने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

कान्ति लोकपथ, पासाङ ल्हामु राजमार्ग, बाह्रबिसे, काभ्रे (खावा), हेटौंडा–काठमाडौं सडक खण्ड लगायतका स्थानमा पहिरो र बाढीले आवागमन प्रभावित बनाएको छ।

यसैबीच, लाङटाङ क्षेत्रमा खोलाको बहाव अत्यधिक बढेपछि ४ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको सुरक्षा निकायहरूले जनाएका छन्।

प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा उद्धार र राहत कार्य जारी छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना परिचालित छन्। स्थानीय प्रशासनले अझै जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्कता अपनाउन आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।