काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवालाई लिएर भइरहेको ‘देश छाडेर भाग्ने’ हल्ला झुटो भएको बताएका छन्।
आइतबार पत्रकार भेटघाटमा बोल्दै उनले देउवा विदेश पलायन हुन लागेका छन् भन्ने प्रचारप्रति आपत्ति जनाउँदै त्यसले नेता तथा कार्यकर्तालाई ‘डिमोरलाइज’ गर्ने प्रयास मात्र भएको बताए।
“लोकतान्त्रिक आन्दोलनमा निरन्तर संघर्ष गरिरहँदा पनि यस्तै हल्ला फैलाइन्थ्यो,” महतले भने, “तर सभापति देउवा कहिल्यै डिमोरलाइज हुनु भएन। उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोेकेको व्यक्ति होइन। सांघातिक हमला हुने देख्दा पनि उहाँले घर छोड्नुभएन भने अहिले देश छाड्नुपर्ने कुनै कारण छैन।”
प्रवक्ता महतले सभापति देउवालाई पासपोर्ट लिएको विषयलाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै हरेक नेपाली नागरिकलाई जस्तै उहाँले पनि आफ्नो अधिकार अनुसार पासपोर्ट लिएको स्पष्ट पारे।
“पासपोर्ट लिनु अपराध जस्तो भाषा प्रयोग गरेर जनतालाई भ्रममा पार्ने कोसिस भइरहेको छ,” उनले थपे।
यसै सन्दर्भमा पार्टीभित्र चलिरहेको नेतृत्व परिवर्तनको प्रयासबारे उनले कार्यकर्तामाझ अन्योलता फैलिएको स्वीकार गरे। तर, समाधान केन्द्रीय समितिमार्फत खोजिने बताए।
“यस्तो अफ्ठ्यारो परिस्थितिमा हामी सबै कांग्रेसजन एकजुट भएर केन्द्रीय समितिमार्फत छलफल गर्नेछौं,” महतले भने, “सामूहिक निष्कर्ष निकालेर पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौं।”
उनले पार्टीको महाधिवेशन प्रक्रिया चाँडो अघि बढाउन पनि सबैको सहमति रहेको बताए।
“केन्द्रीय समितिबाटै सम्पूर्ण प्रक्रिया पूरा गरेर चाँडै महाधिवेशनतर्फ अघि बढ्ने कुरामा कुनै दुईमत छैन,” महतले भने।
Comment