काठमाडौँ । फिल्म ‘दर्पण छायाँ’का चर्चित जोडी उत्तम प्रधान र निरुता सिंहलाई लामो समयपछि पुनः एकसाथ पर्दामा हेर्न पाइने भएको छ। सन् २००३ मा रिलिज भएको ‘उपहार’पछि उनीहरूको जोडीलाई दर्शकले निकै मन पराएका थिए भने अब निर्माता किरण नेपालीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘महादशा’ मा उनीहरू पुनः मुख्य भूमिकामा देखिने भएका छन्।
समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण अवस्थाहरूलाई चित्रण गर्ने यो फिल्मले दर्शकमाझ नयाँ उत्साह र उत्सुकता थप्ने अपेक्षा गरिएको छ। निर्माण पक्षले दुवै कलाकारलाई स्वागत गर्दै उनीहरूको जोडीले फिल्मलाई अझ समृद्ध बनाउने विश्वास व्यक्त गरेको छ।
‘महादशा’ लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्दैछ भने प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङ पनि यसमा अभिनय गर्दैछन्। मनिष गौतमले लेखेको यो फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राई लगानीकर्ता रहेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा यो जोडीको पुनर्मिलनले दर्शकहरूमा खुसी र आशा जगाएको छ, र यो फिल्म सफलताको नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ।
Comment