काठमाडौं । दशैंमा घर फर्किने यात्रुहरूको चापलाई व्यवस्थित गर्न यस वर्ष पनि गाडीको अग्रिम टिकट बुकिङ्गको व्यवस्था निरन्तरता पाउने भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलबाट यो निर्णय भएको हो।
छलफलमार्फत १९ बुँदे सहमति गरिएको छ। यातायात विभागका सूचना अधिकारी गणेश राईका अनुसार यात्रुले अधिकतम ४ दिन अघिदेखि मात्र टिकट बुक गर्न पाउने छन्। तर, ५ दिनभन्दा पछिका लागि अग्रिम टिकट बुक गर्न पाइने छैन।
विभागले काठमाडौंबाट गाउँतिर यात्रुहरूको ठूलो चाप हुने भएकाले सम्भावित समस्या व्यवस्थापन गर्न यस्तो प्रावधान गरेको जनाएको छ।
बैठकमा अनलाइन बुकिङलाई प्रोत्साहन गर्ने, सार्वजनिक सवारीसाधनमा मादक पदार्थ सेवन रोक्ने, अनधिकृत काउन्टरबाट टिकट बिक्री नियन्त्रण गर्ने लगायतका महत्वपूर्ण निर्णय समेत भएका छन्।
यसरी गरिएको १९ बुँदे सहमति अनुसार दशैंतिर यात्रुहरूलाई सहज, सुरक्षित र पारदर्शी सेवा दिन आवश्यक व्यवस्था मिलाइने विभागले जनाएको छ।
Comment