काठमाडौँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी ध्वस्त पारिएको काठमाडौं तारकेश्वर नगरपालिका–११, नेपालटारस्थित ट्राफिक प्रहरी बिट स्थानीयवासीको पहलमा पुनःनिर्माण गरिएको छ।
मंगलबार आन्दोलनकारीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रहरी बिटलाई भोलिपल्टैदेखि नै स्थानीयले उठाउने काम थालेका थिए। स्थानीय युवा राजकुमार लामिछानेका अनुसार पुनर्निर्माणका लागि निर्माण सामग्री जुटाउनदेखि श्रमदान र नगद सहयोगसम्म गरिएको हो। हाल अधिकांश काम सम्पन्न भइसकेको छ भने सिसा जडान गर्ने काम मात्र बाँकी रहेको उनले बताए।
आन्दोलनकारीको निशानामा परेका प्रहरी चौकी र बिटहरू आगजनीका कारण खरानीमा परिणत भए पनि सुरक्षाकर्मीहरूले आफ्नो कर्तव्य भने छाडेका छैनन्। नेपालटारसहित विभिन्न प्रहरी कार्यालयहरूमा सुरक्षाकर्मीहरू जलेका गाडी र सामग्री हटाउँदै नागरिकलाई सेवा दिन व्यस्त देखिएका छन्। “खरानीमाथिबाट उठेर नागरिकलाई सुरक्षा र सेवा दिनु नै हाम्रो धर्म हो,” प्रहरी जवानहरूको भनाइ छ।
आगजनीका कारण करोडौं मूल्य बराबरको सम्पत्ति नष्ट भएको छ। प्रहरी ड्रेस, मोटरसाइकल र गाडी सबै जलेका छन्। यद्यपि सुरक्षाकर्मीहरूले जोखिमपूर्ण बनेका भवनमै बसेर सेवा दिन थालेका छन्। उनीहरूले थप सहयोगका लागि सरकार र समुदायलाई अपिलसमेत गरेका छन्।
२०८२ भदौ २३ देखि सुरु भएको सरकारविरुद्धको जेनजी आन्दोलनले प्रहरी संरचनामा ठूलो क्षति पुर्याए पनि प्रहरीको मनोबल भने कम भएको छैन। स्थानीयको सक्रियता र सुरक्षाकर्मीको दृढताले “कर्तव्य नै धर्म” भन्ने भावलाई अझ मजबुत तुल्याउँदै प्रहरी सेवा निरन्तर जारी राखिएको छ।
Comment