काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको जनाएको छ । रास्वपाले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उठाइएका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई पार्टीले गम्भीर र संवेदनशील रूपमा लिएको विज्ञप्तिमा जनाइएको छ ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसक्ने महामन्त्री आचार्यले जनाएका छन् । महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको महामन्त्री आचार्यले विज्ञप्तिमा जनाएका छन् । ‘अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले राज्यका सम्बन्धित निकायबाट पनि यस विषयमा अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ । राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चाल्ने जनाएको छ । कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता पनि रास्वपाले जनाएको छ ।





Comment