काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज साँझसम्म अन्तरिम सरकारबारे टुंगो लाग्ने सम्भावना रहेको बताएका छन्। आन्दोलनकारीहरूको मागअनुसार नै उनीहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार रहेको उनले एक भिडियोमार्फत स्पष्ट पारेका हुन्।
थापाले संकट समाधानका लागि राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग निरन्तर संवाद भइरहेको बताए। उनले जेन-जी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गरेर मात्रै मुलुकलाई अघि बढाउन सकिने उल्लेख गरे। “यो बेला जेन-जी आन्दोलनकारी साथीहरूले राखेको मागलाई सम्मान गरेर मात्रै देश अघि बढ्न सक्छ, अन्तरिम सरकार बनाउने कुरा त्यही अनुसार हुनेछ,” थापाले भने।
उनले कांग्रेस सच्चिने र अझै बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै, तीव्र दलीयकरणको अवस्थाबाट समाजलाई बाहिर निकाल्ने जिम्मेवारी पनि कांग्रेसले लिने बताए।
पार्टी सरकारमा भएको कारण कांग्रेसमाथि आलोचना भएको स्वीकार गर्दै उनले आत्मसमिक्षा आवश्यक रहेको जोड दिए। “हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन। हामीले हाम्रो दाग आफैं पुछ्नुपर्छ। कांग्रेसले सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ,” उनले स्पष्ट पारे।
थापाको भनाइले आन्दोलनकारीहरूको मागप्रति कांग्रेस गम्भीर बनेको सन्देश दिएको छ।
Comment