काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि एकपटक नयाँ रेकर्डको नजिक पुगेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ, जुन साउन २४ गते कायम भएको अघिल्लो रेकर्ड बराबर हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्यमा ४०० रुपैयाँको वृद्धि भएको हो। बुधबार प्रतितोला मूल्य १ लाख ९९ हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार चाँदी १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५५ रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य २ हजार ३४५ रुपैयाँ थियो।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको दरअनुसार निर्धारण गरिन्छ। बुधबारको अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३,३८९.९६ अमेरिकी डलर र चाँदी ३८.७२ अमेरिकी डलर मा कारोबार भएको थियो।
यदि यही प्रवृत्ति जारी रह्यो भने नेपाली बजारमा चाँडै नै सुनको मूल्यले २ लाख रुपैयाँको मनोवैज्ञानिक सीमा पार गर्ने अनुमान गरिएको छ।
Comment