काठमाडौँ । दशैंको रौनकसँगै नेपाली सिनेमाघरमा हास्य, भावना र जीवनका संवेदनाहरु मिसिएको बहुप्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदैछ। हालै सार्वजनिक गरिएको टिजरले दर्शकमाझ गहिरो उत्सुकता र उत्साह थपेको छ।
टेलिभिजनका प्रिय पात्र हरिबहादुर — जसलाई दर्शकले हास्यको रूपमा सम्झिरहेका छन्, अब भावुक र संवेदनशील यात्रामा देख्न पाउनेछन्। निर्देशक दीपेन्द्र के. खनालले हास्य मात्र नभई जीवनका गहिरा पाटो समेट्दै हरिबहादुरलाई नयाँ रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।
फिल्ममा हरिबहादुरको भूमिकामा हरिवंश आचार्यलाई देख्न पाइनेछ, जसले यो पात्रलाई जिउँदो बनाएका छन्। टिजरमा देखिएको भावुकता, आँखा रसाउने क्षणहरू र आत्मीयता दर्शकको मन छुने खालको छ।
चलचित्रमा प्रियंका कार्की प्रहरीको भूमिकामा, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल लगायत चर्चित कलाकारहरूको दमदार अभिनय देख्न सकिनेछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म सरोज ओली र मोहितवंश आचार्यको निर्माण हो। कृष्ण बहादुर थापाको छायांकन र नकुल खड्काको सम्पादनले दृश्यलाई जीवन्त बनाएका छन्।
संगीत पक्षमा पनि फिल्म बलियो देखिएको छ। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीतमा आशिस अविरल, समीक्षा अधिकारी, समिर खरेल लगायतका आवाजले चलचित्रको भावनालाई अझ सशक्त बनाउने संकेत टिजरमै झल्किन्छ।
असोज १३ गते रिलिज हुने ‘हरिबहादुरको जुत्ता’ ले दसैँको बेला दर्शकलाई हाँसो, रमाइलो र मर्मस्पर्शी कथाको मिठास दिनेछ। यो चलचित्र न केवल मनोरञ्जन, तर सम्झनाको एउटा मिठो उपहार बन्ने आशा गरिएको छ।
Comment