मन्थली । मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
हरितालिकाको अवसर पारेर उनले एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् । ‘जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम’ अन्तर्गत मन्थली मावि मन्थलीका ३५, भैरवी मावि सुनारपानी, सेतीदेवी मावि सालु र शिद्धेश्वर मावि गैराथोकका १०–१०, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका ६ जना र तामाकोशी क्याम्पस खिम्तीका १२ जना गरी ८३ जनालाई नगदसहित विद्यालय शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।
मन्थली क्याम्पसका ६ र खिम्ती क्याम्पसका १२ छात्रामध्ये मन्थलीका २ र खिम्तीका ४ गरी ५ जनालाई १८ हजार रुपैैयाँ नगदसहित ट्रयाकसुट, झोला प्रदान गरिएको थियो भने मन्थली र खिम्ती क्याम्पसका क्रमशः ४ र ८ छात्रालाई ट्रयाकसुट, झोला र एक वर्षलाई सामग्री प्रदान गरिएको थियो ।
त्यसैगरी, मन्थली माविका ३५ छात्रामध्ये १० जनालाई नगद १० हजार रुपैयाँसहित नगद छात्रवृत्ति र २५ जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो भने भैरवी मावि, सिद्धेश्वर मावि र सेतीदेवी माविका १०–१० छात्रामध्ये ३–३ जनालाई १० हजार रुपैयाँसहित र ७–७ जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको सुवेदीले बताए। उनले मन्थली नगरपालिका–१३ को हर्रेचिण्डे मावि, वडा नं ६ को सिद्धेश्वर आवि र वडा नं २ को कालिका आविका छात्रालाई पनि विद्यालय पोशाक प्रदान गरिने बताए।
Comment